ट्रम्पको धम्कीपछि बीआरआई सम्झौता नवीकरण नगर्ने पनामाको घोषणा

एजेन्सी

सोमबार, २१ माघ २०८१, १५ : ०९
ट्रम्पको धम्कीपछि बीआरआई सम्झौता नवीकरण नगर्ने पनामाको घोषणा

काठमाडौँ । पनामाका राष्ट्रपति राउल मुलिनोले चीनसँग गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने घोषणा गरेका छन् ।पनामाले सन् २०१७ मा चीनसँग बीआरआई सम्झौता गरेको थियो । अमेरिकामा राष्ट्रपति चुनाव जितेसँगै डोनाल्ड ट्रम्पले पनामाविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए ।

राष्ट्रपति मुलिनोले अमेरिकासँग नयाँ लगानी परियोजनाहरूमा काम गर्ने इच्छा व्यक्त गरेका हुन् । नयाँ लगानी परियोजनामा पूर्वाधारसम्बन्धी योजना समेत समावेश छन् ।अमेरिकी विदेश मन्त्री मार्को रुबियो आइतबार पनामा भ्रमणमा पुगेका छन् । ट्रम्प राष्ट्रपति बनेपछि कुनै उच्च अमेरिकी अधिकारीको यो पहिलो पनामा भ्रमण हो ।

मार्कोले पनामा सरकारलाई नहरमाथि चीनको प्रभाव र नियन्त्रण तत्काल अन्त्य गर्न माग गरेका छन् । रुबियोले चेतावनी दिँदै भने, ‘यदि पनामाले चीनको प्रभाव हटाएन भने अमेरिका र पनामाबीचको सन्धिअनुसार आफ्ना अधिकारहरूको रक्षा गर्न व्यापक कदम चाल्नेछ ।’

यो चेतावनी आइतबार पनामा सिटीमा अमेरिकी विदेश मन्त्री रुबियो र पनामा राष्ट्रपति राउल मुलिनोबीचको बैठकपछि आएको हो ।

 

प्रतिक्रिया दिनुहोस