सुपर कपमा चेल्सी र भिलारियाल भिड्दै

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, १३ : ४६
सुपर कपमा चेल्सी र भिलारियाल भिड्दै

काठमाडौं । गत सिजनको युइएफए च्याम्पियन्स लिग च्याम्पियन चेल्सी र युरोपा लिग च्याम्पियन भिलारियाल बुधबार राति सुपर कपमा आमनेसामने हुँदैछन् ।

गत सिजन च्याम्पियन्स लिगको फाइनलमा इङ्लिस प्रतिद्वन्दी म्यानचेस्टर सिटीलाई १–० गोलको नजितामा पराजित गर्दै चेल्सीले २०१२ पछि पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । त्यस्तै, स्पेनिस क्लब भिलारियालले पनि युरोपा लिगाको फाइनलमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको थियो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएसँगै युरोपा लिगको फाइनल अतिरिक्त समयमा धकेलिएको थियो । उक्त समयमा थप गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटमार्फत लिइएको थियो ।

रोमाञ्चक पेनाल्टी सुटआउट–सडन डेथमा ११–१० को जित निकाल्दै भिलारियालले पहिलो पटक युरोपियन फुटबलको उपाधि जितेको थियो ।आज राति नर्दन आयरल्यान्डको राजधानी बेलफास्टस्थित विस्डोर पार्कमा हुने खेलमा भिलारियाल दोस्रो युरोपेली फुटबलको उपाधि जित्ने दाउमा छ । यद्यपि, सन् १९९८ यताका तीन सुपर कपमा पराजित चेल्सी खराब इतिहास परिवर्तन गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ ।

यसअघि सन् २०१२ मा पहिलो पटक च्याम्पियन्स लिग जितेको चेल्सी युरोपा लिग विजेता एथ्लेटिको मड्रिडसँग पराजित भएको थियो । त्यसपछि पुनः २०१३ मा युरोपा लिग जित्दै सुपर कप खेलेको चेल्सीविरुद्ध जर्मन महारथी बायर्न म्युनिखले बाजी मारेको थियो ।

त्यस्तै सन् २०१९ मा पनि युरोपा लिग जित्दै सुपर कपमा पुगेको चेल्सी च्याम्पियन्स लिग विजेता लिभरपुलसँग पराजित भएको थियो ।चेल्सीले अन्तिम पटक सन् १९९८ मा रियाल मड्रिडलाई १–० को नतिजामा पराजित गर्दै सुपर कपको उपाधि जितेको थियो ।

अर्कातिर पहिलो पटक सुपर कप खेल्न लागेको भिलारियालका प्रशिक्षक उनै एम्रीले भने तीन पटक सुपर कपको अनुभव लिइसकेका छन् । सन् २०१४ देखि १६ सम्म लगातार सेभिया युरोपा लिग च्याम्पियन बन्दा एम्री नै प्रशिक्षक थिए ।

यद्यपि, तीन पटक नै सुपर कपमा सेभिया पराजित भएको थियो । तीमध्ये एक पटक बार्सिलोना र दुई पटक रियाल मड्रिडसँग एम्री नेतृत्वको सेभिया पराजित भएको थियो ।

आज राति नेपाली समयअनुसार १२ः ४५ बजे सुरु हुने खेलमा दुवै टोली जित हासिल गर्दै उपाधिसहित नयाँ सिजनको सुरुआत गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस