वरिष्ठ अमेरिकी अधिवक्ताद्धारा विरोधस्वरूप आत्मदाह

आइतबार, ०२ बैशाख २०७५, १८ : ४६
वरिष्ठ अमेरिकी अधिवक्ताद्धारा विरोधस्वरूप आत्मदाह

संयुक्त राज्य अमेरिका । वरिष्ठ अमेरिकी अधिवक्ता तथा समलिङ्गीहरूको अधिकारका लागि बहस गर्दै आउनुभएका ड्याभिड बकेलले न्यूयोर्कको एक पार्कमा पृथ्वीको विनासमा मानवजाती भूमिकाप्रति विरोध जनाउँदै आत्मदाह गर्नुभएको छ ।
साठी वर्षीय बकेलले स्थानीय समयअनुसार शनिवार विहानै ब्रुकलिनको प्रोस्पेक्ट पार्कमा आत्मदाह गरेपछि उहाँलाई तत्कालै मृत घोषणा गरिएको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले जनाएको छ । आत्महत्यापूर्व विभिन्न अमेरिकी पत्रिकालाई गरिएको इमेलमा उहाँले पृथ्वीमा जे भइरहेको छ त्यसैको सङ्केतस्वरूप जैविक इन्धनको प्रयोग गरी आत्मदाह गरेको बताउनुभएको छ ।

“वायु, माटो, पानी तथा मौसममा भएको प्रदुषणले हाम्रो धर्तीलाई विनास गरेको छ र पृथ्वीलाई बस्न अयोग्य बनाइरहेको छ,” आत्महत्यापूर्व लेखिएको इमेलमा उहाँले लेख्नुभएको छ । “धेरैजसो मानवजातीले जैविक इन्धनको प्रदुषणका कारण अस्वस्थ भएको स्वास फेरिरहनुभएको छ । नतिजास्वरूप अल्पायुमै मर्नुपरेको छ । मेरो जैविक इन्धनको प्रयोगबाट अल्पायुमै भएको मृत्युले हामीले के गरिरहेका छौँ भन्ने कुराको वोध गराउने छ ।” (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस