एकताको नाममा पार्टी गतिविधि रोक्न सकिदैन : एमाले ओली समूह

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, १७ : ३४
एकताको नाममा पार्टी गतिविधि रोक्न सकिदैन : एमाले ओली समूह

काठमाडौँ ।  नेकपा (एमाले) केपी ओली समूहले पार्टी एकताको नाममा गतिविधि रोक्न नसकिने जनाएको छ ।

पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले एकताका नाममा पार्टीका काम रोक्न नसकिने जनाए। माधव नेपाल पक्षले पार्टीका सबै काम रोकेर एकताको वातावरण बनाउन भनिरहेको छ । यस्तो अवस्थामा अध्यक्ष केपी शर्मा ओली पक्षले भने पार्टी गतिविधि रोक्न नसकिने जवाफ दिँदा पार्टी एकतामा फेरि तिक्तता बढ्ने देखिएको छ । 

विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूको बैठकपछि ज्ञवालीले भने, ‘पार्टीका नियमित काम अघि बढ्छन् । छलफलको नाममा पार्टी कामलाई रोक्ने, गतिरोधमा जाने भन्ने हुन्न ।’

स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने ज्ञवालीको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस