काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहका केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी ओलीसँग एकताको सम्भावना क्षीण हुँदै गएको निष्कर्ष निकालेका छन् । शुक्रबार बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले केपी ओली एकताको पक्षमा नरहेको र झुट मात्र बोलिरहेको निष्कर्ष निकालेका हुन् ।
‘केपी ओलीसँग एकता हुन प्रायः सम्भव छैन भन्ने केन्द्रीय सदस्यहरूको धारणा रह्यो । यो सबै केपी ओलीले झुटो बोलिरहेका छन् । उनी एकताको पक्षमा छैनन् । यसको भ्रममा नपरौँ,’ नेता जगन्नाथ खतिवडाले भने ।
खतिवडाका अनुसार केन्द्रीय सदस्यहरूले तीन वटा विषयलाई प्राथमिकता दिएका थिए ।पहिलो, एकता भए सम्मानजनक र सह अस्तित्वका आधारमा हुनुपर्ने साथै आफ्नो पक्षले पनि जितेको देखिने गरी एकता हुनुपर्ने । दोस्रो, केपी ओलीसँग एकता हुन प्रायः सम्भव छैन । तेस्रो कार्यदलले गरेको मिहिनेत अपुरो छ । १० बुँदे सहमतिले आफूहरूको आकाङ्क्षा र एकतालाई विकसित गर्दैन । यसलाई पूर्ण बनाएर समग्रमा सम्झौता गर्नुपर्छ नत्र पुरानै दलदलमा फस्ने मात्र देखिन्छ ।
‘कार्यदलका साथीहरूलाई १० बुँदा भित्र एमालेको सम्पूर्ण जीवन अटाएको भन्ने लागेको छ । त्यहाँभित्र न्याय छ, समानता छ सबैको राजनीतिक अस्तित्व र हैसियत छ भन्ने वहाँहरूलाई लागेको छ । तर अरू केन्द्रीय सदस्य कसैलाई पनि त्यस्तो लागेको छैन,’ खतिवडाले भने ।
कार्यदलका सदस्यहरूले आगामी २४ गतेसम्म केही प्रगति हुने बताएको बताउँदै आफूहरूले त्यसलाई पर्खने पनि उनले जानकारी दिए । ‘हामीले २४ गते सम्मको डेडलाइन दिएका होइनौँ । २४ गते केपी ओलीले आफ्नो बैठक बोलाउनुभएको छ । वार्ता दलका साथीहरूले निश्चय केही नै प्रगति हुन्छ भन्नुभएको छ । त्यति बेलासम्म हेरौँ भन्ने कुरा उठेको हो ।
खतिवडाले अहिले आफूहरूको जोड अहिले सरकारभन्दा पार्टीको एकतामा नै जोड रहेको पनि बताए । ‘केपी ओलीको स्वेच्छाचारी अडानलाई सरकारमा झारेर अन्त्य गरेका छौँ । अब दक्षिणपन्थी विसर्जनवादलाई पार्टीभित्र अन्तर पार्टी सङ्घर्ष गर्नुपर्छ । हामीले यसका लागि खुट्टा टेक्ने ठाउँ पायौँ, समानताको आधारमा पार्टीमा गयौँ भने हामी ओलीलाई नियन्त्रण गर्न र पार्टीलाई असल कम्युनिस्ट पार्टी बनाउन सक्छौँ भन्नेछ,’ उनले भने, ‘तर टेक्ने ठाउँ नदिई हामीलाई तल पारेर ल्याउने ओलीको इरादा प्रति हामी सतर्क छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ साउन २०७८, १५ : ४०
लेखकबाट थप