दार्चुला । जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो ।
गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति दार्चुला पुगेर निरन्तर छलफलमा जुटेको छ । समितिले घटनास्थलमा खटिएका सुरक्षाकर्मी तथा जिल्लास्थित सुरक्षाकर्मीसँग छलफल सकेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घटना सम्बन्धमा वास्तविक सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नं ४४ गणका प्रहरी नायब उपरीक्षक वीरसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहितको टोली स्थलगत खटिएको थियो ।
यस्तै समितिले बुधबार जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र जनप्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको सहसचिव गौतमले जानकारी दिए । यस्तै समितिले प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको छ । टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ । समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य रहेका छन् ।
नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेका बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका दुई जवानले तुइन फुकालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् । यद्यपि भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरे पनि तुइन नकाटेको दाबी गरेको छ । छानबिन समितिको प्रतिवेदनअनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने जनाएको छ ।
उक्त टोलीले घटनाका प्रत्यक्षदर्शीहरू कल्यानसिंह धामी, अनिता धामी, विक्रम रङ्कोलीलाई खलङ्गा पुर्याएका छन् । प्रत्यक्षदर्शीलाई सोमबारदेखि प्रहरीको निगरानीमा राखिएको छ । उनीहरुलाई पत्रकारसँग भेटघाट गर्न दिइएको छैन ।
जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएको स्थानीयवासीको भनाइ छ । बेपत्ता धामीको शव अझै भेटिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० साउन २०७८, १० : ४६
लेखकबाट थप