अब व्यावसायिक र आवासीय घरजग्गाको भिन्दाभिन्दै कर

पत्रपत्रिकाबाट

मंगलबार, १९ साउन २०७८, ०६ : १८
अब व्यावसायिक र आवासीय घरजग्गाको भिन्दाभिन्दै कर

काठमाडौं । घरजग्गा कारोबारमा वास्तविक कारोबार रकम लुकाउने र अवास्तविक कारोबार अंक देखाएर न्यून कर लाग्ने गरी कर छली गर्ने प्रवृत्ति कायमै रहेको बेला यसलाई नियन्त्रण गर्न नेपाल राजस्व परामर्श समितिले सरकारलाई भिन्दाभिन्दै कर असुल्न सुझाव दिएको छ ।

नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा झन्डै साढे ९ प्रतिशत योगदान रहेको घरजग्गा व्यवसाय अझै संस्थागत नभएर अनौपचारिक तरिकाले सञ्चालन भइरहेको भन्दै राजस्व परामर्श समितिले सरकारलाई यस्तो सुझाव दिएको हो ।

घरजग्गाको कारोबारमा वास्तविक कारोबार रकम लुकाउने प्रवृत्ति नियन्त्रण गर्न समितिले सरकारलाई नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुधारका लागि विभिन्न सुझावसहितको प्रतिवेदन बुझाएको छ ।

समितिले तयार पारेको ‘घरजग्गा कारोबारमा संलग्न एजेन्सीलाई करको दायरामा समेट्नेसम्बन्धी अध्ययन, विश्लेषण प्रतिवेदन २०७७’ले घरजग्गा क्षेत्रलाई कसरी औपचारिक बनाउन सकिन्छ भनेर सरकारलाई यस्तो सुझाव दिएको हो । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस