साउने मेलाले शिवालय क्षेत्रमा चहलपहल

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, १२ : ४६
साउने मेलाले शिवालय क्षेत्रमा चहलपहल

महोत्तरी । साउने सोमबारका दिन मिथिला क्षेत्रका शिवालय परिसर भरिभराउ र सजिसजाउ छन् । जता फर्केर हेर्दा पनि राता, पहेंला वस्त्रले सजिएर शिव दर्शनका लागि ‘बोलबम’को नारा लगाउँदै हिँडेका भक्तजनको भीडले शिवालय परिसर रमणीय देखिन्छ । जिल्लाको टुटेश्वर वनक्षेत्र पनि आज पनि राताम्य देखिएको छ । 

टुटेश्वरचोकबाट आठ किलोमिटर सघन वनक्षेत्र छिचोलेर पुगिने बर्दिबास नगरपालिका–५ को टुटेश्वरनाथ मन्दिरमा  राता बस्त्रधारी यात्रुको आवतजावतले त्यहाँको परिवेश नै राताम्य देखिएको हो । 

मडाहा नदी किनारमै चुरे पहाडी शृङ्खलाको एउटा थुम्कोमा अवस्थित सो मन्दिर वरपर आज बिहानैदेखि हजारौँ भक्तजनको भीड लागेको छ । पूर्व–पश्चिम राजमार्गको टुटेश्वरचोकदेखि मन्दिरसम्मै पूरै सडक ढाकेर बोलबमको नारा लगाउँदै   राता, पहेंला वस्त्रमा सजिएर हिँडने भक्तजनको पङ्क्ति देखिएको छ ।

सौरमासअनुसार गत ४ गतेदेखि नै पहिलो सोमबार शुरु भए पनि मिथिलामा सौरमास र चन्द्रमास दुवैभित्र परेको साउने सोमबारको विशेष महत्व हुने भएकाले दर्शनार्थीको भीड साउन ११ गते सोमबारदेखि मात्र शुरु भएको हो । सौरमासको गणनाले आज साउनको तेस्रो सोमबार भए पनि सौरमास र चन्द्रमास दुवैभित्र परेको भने आज दोस्रो सोमबार हो । यसपाली सौरमासअनुसार साउन ४, ११, १८ र २५ गते चारवटा सोमबार, चन्द्रमासअनुसार  साउन ११, १८ र २५ गते गरी तीनवटा सोमबार परेको र दुवैमासमा तीनवटै अर्थात ११, १८ र २५ गते सोमबार  परेका छन् ।  सिमसिम पानी परेर  प्रचण्ड घामको ताप छलेकाले पनि आज दर्शनार्थीको सङ्ख्या निकै बढेको टुटेश्वर बस्तीका भुवन महत बताउछन ।  

शिवलिङ्गमा जल चढाउन नजिकैको मडहा नदीबाट जल ल्याउन सकिने भएकाले  पनि धेरैजसो भक्तले रातु र कमला नदीबाट जल भरेर ल्याउने गरेका छन् । आज ६० किमी दूरीको उत्तरायणी उत्तरतर्फ बगेको कमला नदीबाट जल लिएर दर्शन गर्न आउने डाक बम सोमबार नै जल भरेर उसै दिन शिवलिङ्गमा जल चढाउन नाङ्गो खुट्टाले हिँडैरै आउने भक्तको सङ्ख्या पनि दुई हजार नाँघिसकेका मन्दिर व्यवस्थापन समितिका सदस्यसमेत रहेका उनको भनाइ छ ।           

टुटेश्वरनाथमा दर्शन गर्न आउनेमा  महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा र सप्तरी जिल्लासहित छिमेकी देश भारतको विहार र उत्तरप्रदेश प्रान्तका भक्त पनि सम्लग्न  छन् । घना वनक्षेत्रभित्र आठ किलोमीटर बाटो पैदल यात्रा गर्दा खास ठाउँ जाँदैछु भन्ने अनुभूति हुने र मन्दिर परिसर नदी किनारको पाहाडको रमाइलो थुम्को रमणीय भएकाले पनि यो धार्मिकस्थलको आकर्षण बढेको  विहार राज्यको शिवहर जिल्लाका  भक्त शिवदयाल दास बताउछन ।

त्यसैगरी टुटेश्वरवासीको अतिथिप्रति सद्भाव, स्नेह र सहयोगी भावले पनि यो ठाउँ भक्तजनकोको रोजाइमा पर्ने गरेको यसपाली पाँचौँ पटक यहाँ आएका भारतकै सीतामढी जिल्लाको नोचा डिमाहीका रामसेवक महतोको धारणा छ ।

 सोमबारे मेलाका अवसरमा आज टुटेश्वरका अतिरिक्त जिल्लाका भङ्गाहा–५ स्थित सिद्धनाथ महादेब मन्दिर, जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर र मगरथानास्थित मङ्गलनाथ महादेब मन्दिरमा पनि भक्तजनको निकै घुइँचो छ ।

प्रतिक्रिया दिनुहोस