महन्थ ठाकुरको रिट निवेदकको सुनुवाई पनि आज हुँदै

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, ११ : ५६
महन्थ ठाकुरको रिट निवेदकको सुनुवाई पनि आज हुँदै

काठमाडौं । जसपा विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सोमबार उक्त रिट निवेदनको पेसी तोकिएको छ ।

निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले सर्वोच्च अदालतमा आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।

रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।यसअघि जसपाको आधिकारिकता सम्बन्धी विवाद आयोगमा विचाराधीन रहेकै अवस्थामा पनि ठाकुरले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

उनले जसपा नेपालका कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गर्ने प्रक्रियालाई रोक्न अन्तरिम आदेशको माग गरे पनि अदालतले अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो ।ठाकुरका तर्फबाट दायर दुवै रिटलाई इजलासमा एकसाथ राखेर सुनुवाई हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस