राज्यमन्त्री बाँस्कोटाद्धारा शैक्षिक अक्षयकोषको शुभारम्भ

शनिबार, ०१ बैशाख २०७५, १८ : ०२
राज्यमन्त्री बाँस्कोटाद्धारा शैक्षिक अक्षयकोषको शुभारम्भ

धुलिखेल । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले रु १० लाखको शैक्षिक विकास अक्षयकोषको शुभारम्भ गर्नुभएको छ  आज काभ्रेपलाञ्चोकको बनेपामा काभ्रे सेवा समाज साउदी अरबको प्रथम वार्षिकोत्सवको अवसरमा उहाँले सो कोषको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले विदेशी भूमि साउदी अरबमा बसेर जीवनको मूल्यबाट जम्मा गरेको रकमबाट राष्ट्रको नाममा स्थापना गरिएको अक्षयकोषबाट काभ्रेपलाञ्चोक र देशको शैक्षिक विकासको लागि उल्लेखनीय सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले यस वर्ष सरकारले नागरिक उत्तरदायित्व अभियानअन्तर्गत एक जनाले आफ्नो परिवारबाहेक एक जना व्यक्तिलाई पढ्नमा सहयोग गर्नुपर्ने अभियान चलाएको बताउनुहुँदै त्यसमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संघीय सांसद गंगाबहादुर तामाङले साउदी अरबमा बसेर श्रम गरी जम्मा गरिएको रकमबाट आफ्नो देशको सुन्दर गाउँबस्तीको सपना बुन्दै स्थापना गरिएको अक्षयकोष सराहनीय रहेको बताउनुभयो । सो क्रममा अक्षयकोषको लागि सहयोग गर्नुभएका संस्थाका प्रमुख सल्लाहकार द्धारिकाराज गिरी, भवन भट्ट र लोक गायक मच्छेश्वर सापकोटालगायतलाई सम्मान गरिएको थियो ।

१६ जनाको समिति रहेको उक्त संस्था एक वर्ष अगाडि काभ्रेपलाञ्चोक जिल्लाको बृहत्तर हितको लागि स्थापना गरिएको संस्थाका संयोजक जेनकुमार लामाले बताउनुभयो । कोषबाट जिल्लाका गरीब, जेहेन्दार र पिछडिएका समुदायका विद्यालयस्तरका विद्यार्थीको अध्ययनको लागि सहयोग गर्ने लामाले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस