चितवनमा तेइसौँ वन्यजन्तु सप्ताह शुरु

शनिबार, ०१ बैशाख २०७५, १४ : ५५
चितवनमा तेइसौँ वन्यजन्तु सप्ताह शुरु

चितवन । ‘समृद्धिका लागि संरक्षण’ भन्ने मूल नाराका साथ तेइसौँ ‘वन्यजन्तु सप्ताह’ चितवनमा आजबाट शुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र यहाँका संरक्षणमूलक विभिन्न संघसंस्थाद्वारा संयुक्तरुपमा आज सौराहामा आयोजित एक कार्यक्रमकाबीच सो सप्ताहको उद्घाटन गर्दै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले मुहान क्षेत्रदेखि नै संरक्षण कार्य प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले संरक्षणमा सबै क्षेत्रको सहकार्यको अपेक्षा रहेको बताउँदै मानिसमा सकारात्मक सोचमा वृद्धि भयो भने संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले निकुञ्ज आसपासको क्षेत्रमा समेत संरक्षणका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगाना, क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरे, वडाध्यक्ष लालबहादुर भट्टलगायतले संरक्षण कार्य प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा झण्डोत्तोलनसहित अन्तक्र्रिया, वन्यजन्तु भेटेनरीसम्बन्धी जानकारी प्रस्तुत गरिएको थियो भने नेचर गाईडबाट फोटो प्रदर्शनी भएको बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङले बताउनुभयो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वैशाख २ गते निकुञ्ज आसपासको खोला सरसफाइ, वैशाख ३ गते संरक्षण अन्तक्र्रिया, वैशाख ४ गते वन्यजन्तुको आनीबानी र बच्ने उपाएका बारेमा जानकारी तथा वन डढेलो नियन्त्रणबारे छलफल कार्यक्रम छ । वैशाख ५ गते बाघका लागि दौड, संरक्षणका लागि प्रांगारिक खेती, वैशाख ६ गते संरक्षणसम्बन्धी जानकारीमूलक प्रस्तुति, अन्तक्र्रिया तथा जीप सफारी तथा वैशाख ७ गते संरक्षणमा योगदान दिएकालाई सम्मान तथा अन्तक्र्रिया एवं समापन कार्यक्रम रहेको संरक्षणकर्मी डोमा पौडेलले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस