कांग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने ,साउन ८ गते बुढानीलकण्ठमा पदाधिकारी बैठक बस्ने

सफल खबर संवाददाता

विहीबार, ०७ साउन २०७८, १७ : ११
कांग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने ,साउन ८ गते बुढानीलकण्ठमा पदाधिकारी बैठक बस्ने

file-photo

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने बताएका छन् ।

बिहीबार दिउँसो ट्विटरमा उनले लेखेका छन्, ‘विगतको गलत गलत परम्परालाई तोड्दै अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने ।’

महामन्त्री खड्काले कांग्रेसको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक साउन ८ गते बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बताएका छन् ।पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखेको भन्दै आलोचना भएपछि देउवाले आफ्नै निजी निवासमा बैठक बोलाएका हुन् ।

पार्टी कार्यालय सानेपामा विभिन्न जिल्लाका नेता कार्यकर्ताहरु धर्नामा बसेपछि कांग्रेस पदाधिकारी बैठक बुढानिकलण्ठमा राखिएको कांग्रेसका एक नेताले बताए ।शुक्रबार बस्ने  पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पार्टीको आसन्न महाधिवेशनका बारेमा छलफल गर्ने जनाइएको छ ।

क्रियाशील सदस्यताको काम नटुंगिएपछि कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि प्रभावित भएको छ । १२ साउनदेखि स्थानीय अधिवेशन शुरु गर्ने कार्यतालिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस