नेकपा एमालेका नेपाल समूह स्पष्टीकरणपत्रमा हस्ताक्षर गर्दै

सफल खबर संवाददाता

विहीबार, ०७ साउन २०७८, १६ : १७
नेकपा एमालेका नेपाल समूह स्पष्टीकरणपत्रमा हस्ताक्षर गर्दै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी गरेका छन् । त्यसका लागि अहिले नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् ।

सांसद भवानीप्रसाद खापुङ्गले सांसदहरु आउनेक्रम जारी रहेको र केही बेरमा जवाफ पठाउने बताए । उनले भने , ‘हो हामी जवाफ दिँदैछौँ । केही माननीयज्यूहरु हस्ताक्षर गर्दै हुनुहुन्छ, केही आउँदै हुनुहुन्छ ।’

पार्टी एकतालाई बल पुगोस् भन्ने उद्धेश्यले स्पष्टीकरणको जवाफ दिन लागेको उनको भनाइ छ । ‘अहिले पार्टी एकताको कुरा छ, त्यसमा बल पुगोस् भन्ने कुरा हो । जसरी हामीलाई पार्टी अनुशासन तोडेको आरोप लागेको छ, त्यसबारे प्रष्ट पार्न पनि जवाफ दिने निर्णयमा पुगेका हौँ’, सांसद खापुङ्गले भने ।

अध्यक्ष ओलीले अस्तिको मिति राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपाल पक्षका २२ सांसदलाई हिजो स्पष्टीकरण सोधेका थिए । संविधानको धारा ७६ ५ को प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा दलको ह्वीप नलाग्ने र ह्वीप उलंघनको आधारमा कारबाही गर्न नपाउने सर्वोच्च अदालतको आदेशका कारण स्पष्टीकरणपत्रमा उनीहरुमाथि पार्टी अनुशासन मिचेको आरोप लगाइएको छ ।

सांसद खापुङ्गले फरक–फरक बुँदामा स्पष्टीकरण सोधिएकाले त्यसैअनुसार जवाफ तयार पारिएको बताए । नेकपाको विवाद, एमाले माओवादी ब्युँताउने सर्वोच्चको फैसला र त्यसयता ओलीले गरेका एकल निर्णयका कुरा जवाफमा समेटिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस