बृन्दापुर गाँउ लायन्स नमुना गाँउ घोषणा

सफल खबर संवाददाता

विहीबार, ०७ साउन २०७८, १३ : ४३
बृन्दापुर गाँउ लायन्स नमुना गाँउ घोषणा

चितवन । लायन्स क्लब अफ चितवन चौतारीको अगुवाईमा आज गैडाकोट ३ मा अवस्थित बृन्दापुर गाँउलाई लायन्स नमुना गाँउ घोषणा कार्यक्रम सम्पन्न भएको छ । सो गाँउलाई नमुना बनाउन लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि, लायन्स क्लब अफ गैडाकोट उत्कृष्ट  र लायन्स क्लब अफ चितवन स्पन्दनले कार्य गर्नेछन् ।

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का बर्ष २०२१÷ २२ का गर्भनर लायन रामप्रसाद भट्टको परिकल्पना अनुसार कुनै एक गाँउको छनोट गरी क्लबहरुले गर्ने बर्षभरीका सबै कार्यहरु सोहि गाँउमा सम्पन्न गर्ने गरी लायन्स नमुना गाँउको परिकल्पना गरिएको हो । सो कार्य स्थानिय पालिका तथा वडा कार्यलय सँगको समन्वयमा सम्पन्न हुनेछ ।

नमुना गाँउ घोषणासँगै घोषित गाँउमा बिभिन्न किसिमका जनचेतना कार्यक्रमहरु सञ्चालन हुनेछ । समय समयमा स्वास्थ्य शिबिर, स्थानियलाई बिभिन्न किसिमका आयमुलक तालिमहरु समेत प्रदान गरिनेछ ।  

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक सचिब लायन प्रभाकर पण्डितले गैडाकोट नगरपालिका वडा नं ३ बृन्दापुरमा रहेको श्री पञ्चकन्या प्रा.बि.को प्राङगणमा रुद्राक्षका बिरुवा रोप्दै लायन्स नमुना गाँउ घोषणा गरेका हुन  । कार्यक्रमका प्रमुख अतिथि रहेका डिष्ट्रिकका सचिब पण्डितले लायन्सको यो अभियान धेरै नागरिकहरुले उच्चकोटीको सेवा पाउने बताए । बिगत देखिनै प्रभाबकारी कार्यगर्दे आईरहेको चितवन चौतारी लायन्सको अगुवाईमा बृन्दापुर साच्चै नमुना गाँउ बन्नेमा आफुलाई पुरा बिश्वास भएको बताए ।

कार्यक्रममा गैडाकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष शिबकान्त तिवारीले बृन्दापुर गाँउ गैडाकोट नगरपालिकाको कार्यलयबाट नजिक भएर पनि बिकासको दृष्टिले पछाडी रहेको बताए । उनले आफ्नो वडाले नगरपालिको ४३ प्रतिसत क्षेत्रफल ओगटेको र बस्तीहरु पातला पातला भएका कारण सबै नागरिकहरुलाई आधारभुत सेवा दिन समेत कठिन रहेको बतए । सिमित स्रोत र साधनबाट काम गर्दै आईरहेको बताउदै उनले आफ्नो वडा अन्र्तगतको बस्तीपुर गाँउलाई लायन्स क्लबहरुले नमुना गाँउ घोषणा गरी सो को कार्यन्वयमा देखाएको तत्परताले ज्यादै उत्साहि भएको बताए । यस्ता किसिमका सहकार्यको निरन्तरताका लागी उपस्थित लायनहरुसँग आग्रह गरेका थिए ।

बिद्यालयको स्थापना बि.स. २०४५ सालमा भएको हो । स्थानिय गोपाल दर्लामीका अनुसार शुरुमा कक्षा ३ सम्मको पढाई हुने बिद्यालयमा शिक्षक टेक बहादुर आलेले ३ बर्ष स्वयसेबी शिक्षकका रुपमा अध्यापन गराएका थिए । हाल यो बिद्यालयमा कक्षा ५ सम्म पढाई हुन्छ । समय समयमा बिभिन्न दाताको सहयोगमा केहि भौतिक पुर्वाधार बनेपनि अझै धेरै बाँकी रहेको बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद पौडेलले बताए। यो शैक्षिक सत्रमा ४३ बिद्यार्थी भर्ना भईसकेको बिद्यालयकी प्रअ राधिका भण्डारीले बताईन । बिद्यालयमा ३ स्थायी दरबन्दी , १ जना बाल शिक्षा अन्र्तगतका शिक्षक र १ कर्मचारी कार्यरत छन् ।

सो घोषणा कार्यक्रममा डिष्ट्रिकका को चिफ एडभाईजरहरु राजेन्द्र गौतम, कृष्ण पाण्डे, डिष्ट्रिक चिफ गोपाल गौतम, डेपुटी चिफ भक्तीप्रसाद चालिसे, डिष्ट्रिकका डेपुटी सचिब पूर्णप्रसाद शर्मा, गैडाकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष समेत रहनु भएका लायन्सका एओजी नवराज कंडेल, रिजोन चियर पर्सन बिनोद पन्त, जोन चियरपर्सन किशोर पौडेल लगायतका लायन्सकर्मीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस