विराटनगर । झापाको कचनकवल गाउँपालिकाबाट आगामी फागुन ३ गतेदेखि नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित अभियान सुरु गर्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यक्रम अनुरूप देशव्यापी रूपमा कचनकवलबाट छ महिने अभियान सुरु हुन लागेको हो ।
हुलाकी राजमार्गदेखि सुरु हुने अभियान महाकाली पुगेर पुनः मदन भण्डारी राजमार्ग केन्द्रित भएर सोलुखुम्बुको सगरमाथाको फेदीमा समापन हुनेछ । हुलाकी राजमार्ग केन्द्रित अभियानका लागि शुक्रबार माओवादी केन्द्र झापाको पाँचौँ पूर्ण बैठकले कार्यविभाजन समेत गरेको छ ।
पार्टी–कार्यकर्ता परिचालनदेखि गाउँ–नगर अधिवेशन सम्पन्न गर्ने लगायतका कार्य भइरहेको पार्टीका जिल्ला सचिव मोहन टुडूले जानकारी दिए ।
पार्टीका उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई मजबुदर बनाउन नेता–कार्यकता रुपान्तरण हुनुपर्नेमा जोड दिए । प्रदेशका इन्चार्जसमेत रहेका उनले पार्टी भित्रका अन्तर्विरोध हटाउनु पर्ने बताउँदै सुधारात्मक अन्तर्विरोध आवश्यक रहेको बताए ।
पार्टी कमजोर हुनुमा नेता कमजोर नभई नीतिगत त्रुटिले गर्दा पार्टी कमजोर भएको उनले उल्लेख गरे । ‘बिरुवा आधुनिक भए पनि परम्परागत रूपमा मलजल गर्दा प्रतिफल पाउन सकिँदैन,’ उनले भने, ‘हाम्रो विचारमा सुधार गर्न नसक्दा पार्टी कमजोर भयो, त्यसलाई सुधार्नु पर्छ ।
बैठकमा पार्टीकी केन्द्रीय सदस्य धर्मशीला चापागाईँले पार्टीले पूर्वलाई केन्द्रले ध्यान दिनुपर्ने बताइन् । पार्टीका केन्द्रीय सदस्य इन्द्र आङ्बोले पछिल्लो माओवादी पार्टीप्रति जनाधार बढेको बताए । उनले उत्पादन र रोजगारीको क्षेत्रमा पार्टीले काम गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ माघ २०८१, १६ : ३१
लेखकबाट थप