मध्य भोटेकोशी जलविद्युत आयोजनाको सेयर बिक्री पुन:खुला

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, ११ : ४०
मध्य भोटेकोशी जलविद्युत आयोजनाको सेयर बिक्री पुन:खुला

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका वासिन्दाका लागि सेयर बिक्री आजबाट पुन खुला गरेको छ ।भोटेकोशी गाउँपालिका १ र ५ साविक लिस्ती गा.वि.स र साविक मार्मिङ गा.वि.स, बाह्रबिसे नगरपालिका-५ र ६ साविक गाती गा.वि.स. तथा बाह्रबिसे नगरपालिका वडा नम्बर ७ र ८ साविक घुम्थाङ्ग गा.वि.स र साविक मानेश्वरा गा.वि.सका आयोजनाबाट प्रभावित र सिन्धुपाल्चोक जिल्लाका बासिन्दालाई सेयर विक्री पुन:खोलिएको हो ।

वैशाख २१ देखि स्थानीय समूहको लागि छुट्याइएको कुल ६० लाख कित्ता साधारण सेयरको बिक्री खुल्ला गरिएको थियो । तर, कोरोनाको दोस्रो लहरबाट असहज परिस्थितिका कारण वैशाख २४ गते स्थगित गरिएको थियो ।

आजबाट पुनस् बिक्री शुरू गरिएकोमा आवेदन दिने मिति छिटोमा साउन १७ र ढिलोमा साउन ३२ गतेसम्मलाई तोकिएको छ । न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

सिन्धुपाल्चोकमा ३६ वटा र काठमाडौं जिल्लाका ७ वटा बिक्री तथा संकलन केन्द्रबाट आवेदन दिन सकिने आयोजनाले जनाएको छ । यसका अतिरिक्त नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूमार्फत पनि आवेदन बुझाउन सकिने छ । ईसेवा , आईएमई पे को ‘अनलाइन पेमेन्ट गेटवे’ को निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटबाट पनि आवेदन गर्न सकिने आयोजनाले जनाएको छ ।

आयोजनाले पहिलो चरणमा कर्मचारी संचयकोषका संचयकर्ता तथा कर्मचारीहरु, सेयरधनी संस्थापक संस्थाका कर्मचारी एवं ऋणदाता संस्था कर्मचारीका लागि सेयर निष्कासन गरी बाँडफाट गरिसकेको छ ।

यसअघि सिन्धुपाल्चोकका आयोजना प्रभावित तथा स्थानीयबासिन्दाले वैशाख २१ देखि २३ गते सेयरमा आवेदन दिएका आवेदकले यस निष्कासनमा पुनस् आवेदन दिनु नपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस