पदवहाली लगत्तै यस्तो आयो सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

विहीबार, २९ चैत्र २०७४, १९ : ५९
पदवहाली लगत्तै यस्तो आयो  सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन


काठमाडौं । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी प्रधान कार्यालयमा पुगेर पदवहाली गरेका छन् । पद बहाली गरेलगत्तै महानिरीक्षक खनालले सशस्त्र प्रहरी बलको सिंगो संगठनलाई देश, जनता र संगठनप्रति सधैं वफादार एवं उत्तरदायी रही कार्य सम्पादन गर्न निर्देशन दिए ।  

उनले संगठनलाई अझै मजबूत र नमुनाको रुपमा स्थापित गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु एकजुट भई सामूहिक भावनाका साथ अघि बढ्न आग्रह गरे । निर्देशन दिँदै उनले चेनअफ कमाण्ड, फौजी मर्यादा र अनुशासनमा रही हरेकले आफ्नो कार्यशैली, सोच र व्यवहारमा परिवर्तन ल्याउँदै कर्तव्य निर्वाहमा दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए ।

महानिरीक्षक खनालले भने, ‘कोहीप्रति पुर्वाग्रही नराखी सबैलाई न्यायोचित हुने तवरले वृत्ति विकास लगायतका संगठनका हरेक अवसर र कामकारवाही पारदर्शी एवं प्रभावकारी ढंगबाट संचालन हुनेछन् ।’   उनले गृह प्रशासन सुधार कार्ययोजनाको मूल मर्मलाई आत्मसात गर्दै संगठनलाई प्राप्त हरेक जिम्मेवारीलाई उत्कृष्ट एवं व्यावसायिक ढंगबाट पूरा गर्न नेतृत्व तह लगायत सबै गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस