कृषिमन्त्री अधिकारी र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

सफल खबर संवाददाता

सोमबार, ०७ असोज २०८१, २१ : ०१
कृषिमन्त्री अधिकारी र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सोमबार दिउँसो भएको भेटमा दुई पक्षीय हितका विषयमा पनि छलफल भएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले नेपाल–भारत सम्बन्धहरू मित्रता र सहयोग, सार्वभौम समानता, आपसी सम्मान र विश्वासका सिद्धान्तहरूमा आधारित रहेका स्मरण गरे।

कृषि क्षेत्रमा लगानी र विकासका लागि नेपाल सरकार लागि परेको जनाउँदै मन्त्री अधिकारीले त्यसमा भारत सरकारको थप सहयोग अपेक्षा राखेको बताए।

नेपालका कृषिजन्य उत्पादनहरूलाई भारतीय बजारमा सहज पहुँच पुर्‍याउन सहजीकरणका लागि आग्रह गर्दै अधिकारीले भने, ‘यसले दुई देशबिचको आर्थिक सम्बन्ध र व्यापार प्रवर्द्धनलाई बलियो बनाउनेछ।’

सीमा क्षेत्रमा पशुपन्छी रोग नियन्त्रणका लागि दुवै देशबिचको सहकार्यलाई निरन्तरता दिन आवश्यक रहेको औँल्याउँदै कृषि मन्त्री अधिकारीले खोरेँत साथै विभिन्न पक्षी फ्लुजस्ता रोगहरूको रोकथाम तथा कृषि उपजको आयात निर्यातको लागि सीमा क्षेत्रमा थप क्वारेनटाइन व्यवस्थाहरू मजबुत बनाउन एकीकृत उपाय अपनाउन पर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस