निषेधाज्ञा मात्रै खुकुलिएको हो, कोरोना सङ्क्रमण घटेको छैन’

रासस

आइतबार, ०३ साउन २०७८, ११ : ४६
निषेधाज्ञा मात्रै खुकुलिएको हो, कोरोना सङ्क्रमण घटेको छैन’

पाँचथर । कोरोना भाइरस सङ्क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा पाँचथरमा विगत ६८ दिनदेखि निरन्तर छ । हालसम्म नौपटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइए पनि कोरोना सङ्क्रमण भने घट्न सकेको छैन । यति लामो समयको निषेधाज्ञामा पनि सङ्क्रमण दर ३० प्रतिशतभन्दा कम हुनसकेको छैन भने सङ्क्रमण फैलावट नयाँ–नयाँ क्षेत्रमा पुगिरहेको छ ।

लामो समयदेखिको निषेधाज्ञा र सरकारी प्रयासले समेत सङ्क्रमण घट्न नसकेको प्रति यहाँका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अठसठ्ठी दिनदेखि निषेधाज्ञा जारी गरिएको भए पनि यसबीचमा एक साता मात्रै कडाइका साथ निषेधाज्ञा लागू भयो । बाँकी अवधिमा भने मानवीय गतिविधि, सवारी साधन सञ्चालनमा कडाइ हुन सकेन । फलतः पाँचथरमा कोरोना सङ्क्रमण दर कम हुनसकेको छैन ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको तथ्याङ्कअनुसार शुक्रबार ८७ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा सङ्क्रमण देखियो । बिहीबार २६ जनाको एन्टिजेन परीक्षणमा १४ जनामा रिपोर्ट पोजेटिभ आएको थियो । यस्तै बुधबार ४९ जनाको एन्टिजेन परीक्षणमा २६, मङ्गलबार ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ३१, सोमबार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २१, आइतबार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । यसरी समग्रमा यस हप्ता ३२३ जनाको एन्टिजेन परीक्षण गर्दा १२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । यो तथ्याङ्कलाई आधार मान्दा अहिले पाँचथर जिल्लामा कोरोना भाइरस सङ्क्रमणको दर ३९।६२ प्रतिशत देखिन्छ । समग्र मुलुकभरिमा सङ्क्रमण दर ३० प्रतिशतभन्दा कममा खुम्चिएको अवस्थामा पाँचथरमा सङ्क्रमण दर ४० प्रतिशतको हाराहारीबाट घट्न नसकेको हो ।

स्वास्थ्य कार्यालय पाँचथरका अनुसार पाँचथरमा गत वैशाख १८ गतेदेखि गत शुक्रबारसम्म छ हजार ८९७ वटा एन्टिजेन र एक हजार ११० वटा पिसिआर गरी कूल आठ हजार सातवटा परीक्षण गरिएको छ । सोमध्ये कूल दुई हजार ५१४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो तथ्याङ्कअनुसार जिल्लामा हालसम्म परीक्षण भएकामध्ये ३६।४५ प्रतिशतमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस्तै कोरोना सङ्क्रमणका कारण हालसम्म जिल्लामा ४३ जनाको मृत्यु भएको छ ।

जिल्लामा सङ्क्रमणको अवस्था चुनौतीपूर्ण रहे पनि समुदायस्तरबाट सजगताको अवस्था निकै कमजोर छ । यहाँ पछिल्लो दुई सातादेखि निषेधाज्ञा नाम मात्रैको छ । मानवीय चहलपहल, सवारी आवागमन, भीडभाड हुने क्षेत्र प्रायः खुला छ । निषेधाज्ञामा बिहान ५ बजेदेखि मध्याह्न १ बजेसम्म भीडभाड हुने स्थानबाहेक अन्य सेवा सञ्चालन गर्ने भनिए पनि त्यसको पालना हुनसकेको छैन । स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो पारे पनि सङ्क्रमणदर नघटेकातर्फ सर्वसाधारणको ध्यान पुग्न नसक्दा सङ्क्रमण झनै फैलने खतरा देखिएको हो ।

प्रतिक्रिया दिनुहोस