कविता : म हुँ सरोज चेपाङ

बुधबार, २८ चैत्र २०७४, १७ : ४२
कविता : म हुँ सरोज चेपाङ
अनुपम ‘नवोदित’

स्निग्ध हिमशैलको वात्सल्यमा
चर्खा जस्तै घुम्ने ऋतुचक्रहरुमा
हरित उपवनको
नवपल्लवित
वसन्तकालिन अाँचलहरुमा
सुविधायुक्त आमोद-प्रमोद नभए पनि
तिमीले मलाई दोस्रो दर्जाको बनाए पनि
चेपाङलाई हुकुमी प्रजाको संज्ञा दिए पनि
अजश्र कठिनाइहरुको सामना गर्दै
वसन्तकोकिल झैं आल्हादित हुन्छु
सुन्दर-सुन्दर पुष्पलतिकाहरुमा रम्छु
सुन्दर-सुन्दर आविष्कारहरुमा जम्छु
सुन्दर सुदूर भविष्यमाथि गम्छु
हो म
यही मेरो कष्टसाध्य
सानो संसारबाट चिहाएर
विशाल संसारै देख्छु
पूर्खाहरुको इतिहास लेख्छु
छङ्गाछूर पहराको डिलमा
मेरो झूप्रे घर भए पनि
अभावै अभावमा रहे पनि
जिन्दगीमा ठूला-ठूला चट्याङहरु आए पनि
जंगली तरु-कन्दमुल खाए पनि
हरपल, हरघडी
नविनताको खोजीमा हुन्छु
अग्लो शिखरको चुचुरोबाट
आकाशमा कावा खाँदै उड्ने
स्वतन्त्र पक्षीलाई नियाल्दै
आकाशमै उड्न खोज्ने
राइट दाजुभाइसँग
मितेरी गाँस्न खोज्ने
मै हुँ त्यही सरोज चेपाङ
त्यसैले मलाई
अवसरविहिनताको
बन्द कोठामा कैद नगर
मै हुँ आकाशमा उड्न चाहने
राप्ती गा.पा.को सरोज चेपाङ

(आफैंले बनाएको प्यारा मोटर ४२ मिनेटसम्म आकाशमा उडाउने सरोज चेपाङको आविष्कारमा समर्पित कविता )

कालिन्चोक गाउँ पालिका,
लापिलाङ दोलखा
हाल – पराईभूमी ।
३० मार्च, २०१८

प्रतिक्रिया दिनुहोस