भरतपुरमा रहेको नारायणी पोलीटेक्निक इन्स्टिच्युट बाट प्राविधिक सीप परीक्षा लिँदा लापरबाही

बुधबार, २८ चैत्र २०७४, १४ : ५३
भरतपुरमा रहेको नारायणी पोलीटेक्निक इन्स्टिच्युट बाट प्राविधिक सीप परीक्षा लिँदा लापरबाही

चितवन । राष्ट्रिय सीप परीक्षण समितिबाट लिइने प्राविधिक सीप परीक्षामा लापरबाही हुने गरेको गुनासो विद्यार्थीहरुले गरेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी) को आंगिक कलेज भरतपुर महानगरपालिका १० स्थित नारायणी पोलीटेक्निक इन्स्टिच्युट बाट लिइएको सीप परीक्षामा लापरबाही भइरहेको विद्यार्थीहरुको आरोप छ ।
अनेरास्ववियु सिटिईभिटी राष्ट्रिय कमिटी सदस्य विश्वशान्ति कोइरालाले हिजो मंगलबार सीप परीक्षा भइरहेको ठाउँमा मूल्यांकनकर्ता नै नभेटेको बताउनु भयो । ‘परीक्षामा लापरबाही भएको भन्ने विद्यार्थीहरुको गुनासो आएपछि छड्के गएका थियौं’ उहाँले भन्नुभयो, ‘सीप परीक्षा लिने ठाउँमा तीन जना मूल्यांकनकर्ता हुनुपर्नेमा एक जना पनि भेटेनौँ ।’ कोइरालाले एनपीआईका एक जना मूल्यांकनकर्ता माधव काफ्ले स्कुल अफ हेल्थ साइन्सका कर्मचारी रहेको पाइएको बताउनु भयो ।


नारायणी पोलीटेक्निक इन्स्टिच्युटका प्रिन्सिपल तारा लुइँटेलले हिजो मूल्यांकनकर्ता खाना खाने समय (लञ्च ब्रेक) को बेला विद्यार्थीहरु पुगेकोले कोही नभेटिएको स्पष्ट पार्नुभयो । ‘मूल्यांकनकर्ता तीन जना नै हुन्छन्’ उहाँले भन्नुभयो, ‘पहिलेदेखि नै काम गरिरहेका व्यक्तिहरुको सीप परीक्षा लिइरहेका छौँ । हामीले सीप परीक्षा लिएपछि प्रमाणीकरण गर्ने हो ।’ सीप परीक्षाका लागि फारम भर्नेहरु परिचित नहुने भएकोले परीक्षामा अनियमितताको आशंका गर्न नमिल्ने उहाँको भनाइ छ ।
नारायणी पोलीटेक्निक इन्स्टिच्युटले इँटको गारो लगाउने, भवन तथा उद्योगको वायरिङ, प्लम्बिङ लगायतका विषयमा सीप परीक्षा लिँदै आएको छ । सफल खबरलाई प्राप्त प्रश्नपत्र खोलेको मुचुल्कामा दुई जना र उत्तरपुस्तिका बन्द गरेको मुचुल्कामा एक जना मूल्यांकनकर्ताको मात्र हस्ताक्षर रहेको छ । यसले नारायणी पोलीटेक्निक इन्स्टिच्युट बाट लिइएको सीप परीक्षामा लापरबाही भएको पुष्टि गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस