एमालेमा कार्यदल ब्यूँतियो ,एकताका लागि संयुक्त मस्यौदामा छलफल सुरु

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, १८ : २०
एमालेमा कार्यदल ब्यूँतियो ,एकताका लागि संयुक्त मस्यौदामा छलफल सुरु

काठमाडौं । नेकपा एमालेको एकताका लागि संयुक्त मस्यौदामा छलफल शुरू भएको छ । सहमतिको मस्यौदाका लागि यसअघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमति अनुसार गठित कार्यदलको औपचारिक बैठक सिंहदरबारमा सुरु भएको छ ।

एमाले स्रोतका अनुसार केही सकारात्मक प्रगतिपछि कार्यदल ब्युँताइएको हो । कार्यदलमा ओली पक्षका संयोजक सुवास नेम्वाङ छन् भने माधव नेपाल पक्षका संयोजक भीम रावल छन् ।

भीम रावलले आइतबार राति अध्यक्ष ओलीसँग भेटेपछि कार्यदल ब्युँतिएको हो । सर्वोच्च अदालतमा बहस सकिएकाले त्यसबारे अदालतको फैसला बमोजिम पार्टीले संस्थागत निर्णय गरेर अघि बढ्ने सहमति दुवै पक्षबीच भएको छ ।

त्यसबाहेक अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएमा माधव नेपाललाई सम्मानजनक स्थान दिएर केपी ओलीको सरकारलाई निरन्तरता दिने विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।

त्यसमा सहमति भएको अवस्थामा एमालेका सबै संरचनाहरू २०७५ जेठ २ कै अवस्थाबाट अघि बढाउन यसअघि नै सहमति भइसकेको छ ।दुवै पक्षका वार्ताकारहरूबीचको तीन बुँदे सहमतिको मस्यौदामाथि नै केन्द्रित रहेर कार्यदलमा औपचारिक छलफल हुन लागेको नेताहरूले बताएका छन् ।

कार्यदलमा ओली पक्षबाट नेम्वाङसहित विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट संयोजक भीम रावलसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट छन् ।

प्रतिक्रिया दिनुहोस