विपक्षीहरु कसैसंग पनि जनतासंग जाने हिम्मत देखिएको छैन : देवेन्द्र दाहाल

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, १४ : ००
विपक्षीहरु कसैसंग पनि जनतासंग जाने हिम्मत देखिएको छैन : देवेन्द्र दाहाल

काठमाडौं । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी गरेका छन् । 

सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य दाहालले पहिलो पटक विघटित प्रतिनिधिसभा पुनस्थापना पछि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर गरे । उनले निर्वाचनको विरोध गर्ने विपक्षीहरु कसै संग पनि जनतासंग जाने हिम्मत नभएको दाबी पनि गरे ।

उनले भने, “विपक्षीहरु कसैसंग पनि जनतासंग जाने हिम्मत देखिएको छैन । ”उनले संसदीय अभ्यासको नाम गैह संबैधानिक अभ्यासहरु देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास सुरु भएको दाबी गरे । उनले निर्लज्ज ढंगले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाईदिनुपर्यो भन्दै नसुहाउँदो ढंगले नेकपाका वरिष्ठ नेताहरु हस्ताक्षर सहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लाईन लागेको टिप्पणी गरे ।

सरकारले कोभिड दोश्रो लहरको समयमा अत्याधिक आवश्यक परेको अक्सिजन उपलब्धता र खोप आयातमा सरकारले निकै राम्रो काम गरेको दाबी गरे । उनले विपक्षी दलहरुले सरकारले गरेका राम्रा काम देख्न नसकेको टिप्पणी गरे । संसदीय प्रणालीमा राष्ट्रियसभा मात्रै अपुर्ण हुने भएकाले प्रतिनिधिसभा विना राष्ट्रियसभाले कुनै पनि ऐन बनाउन नसक्ने बताए ।

बाढी पहिरोबाट मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको भन्दै राहत, पुर्नस्थापनाको माग गरे ।

प्रतिक्रिया दिनुहोस