संसद् विघटनको मुद्दामा सरकार पक्षको आज अन्तिम बहस, फैसला आउन केही दिन लाग्ने

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १२ : ०४
संसद् विघटनको मुद्दामा सरकार पक्षको आज अन्तिम बहस, फैसला आउन केही दिन लाग्ने

काठमाडौँ । संसद् विघटनिवरूद्धको मुद्दामा आज सरकार पक्षका वकिलहरुको अन्तिम बहस हुँदैछ । मुद्दाका विपक्षी अर्थात् राष्ट्रपति र प्रधानमन्त्री पक्षबाट केही दिनदेखि जारी बहस आज सकिन लागेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा उक्त मुद्दामाथि बहस असार ९ गतेदेखि निरन्तर जारी छ ।

सरकार पक्षबाट महान्याधिवक्ता लगायत कानुन व्यवसायीले बहस गरेका छन् । उनीहरुलाई दिइएको कुल १५ घण्टाको बहस समय अब डेढ घण्टा मात्र बाँकी छ । अहिलेसम्म सरकारको प्रतिरक्षामा महान्यायाधिवक्ता, पूर्व महान्यायाधिवक्ता लगायत १० जना कानुन व्यवसायीले बहस गरिसकेका छन् । अबको डेढ घण्टामा बहस गर्न बाँकी १३ जना कानुन व्यवसायीको नाम सूचीमा रहेको छ । उनीहरूमध्ये ३ जनालाई १० मिनेट र १० जनालाई ७ मिनेटका दरले समय तय गरिएको छ ।

उनीहरुको बहस सकिएपछि आजै सभामुखका तर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्नेछन् । सभामुखको पक्षका वकिलका लागि १ घण्टा मात्र समय छुट्याइएको छ । तर समय थप गर्नुपरेमा केही थप्न सकिने इजलासले बताएको छ ।

सभामुख पक्षको बहस सकिएपछि पुनः रिट निवेदक पक्ष विपक्षी गठबन्धनका १४६ जना सांसदका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । यसका लागि ३ घण्टाको समय छुट्याइएको छ ।

यद्यपि मुद्दामाथि फैसला आउन भने केही दिन लाग्नेछ । इजलासले पक्ष र विपक्षका बहस सुनिसकेपछि एमिकस क्युरीहरुको राय पनि सुन्नेछ । यसका लागि २ घण्टाको समय तोकिएको छ । त्यसपति इजलासले मुद्दामाथि फैसला गर्नेछ ।

प्रतिक्रिया दिनुहोस