नारायणगढ बजारमा दिउँसै महानगरका वडाध्यक्षमाथि आक्रमण

मंगलबार, २७ चैत्र २०७४, १७ : ४७
नारायणगढ बजारमा दिउँसै महानगरका वडाध्यक्षमाथि आक्रमण

चितवन । नारायणगढको शहीदचोकमा आज मंगलबार दिउँसै भरतपुर महानगरपालिका वडा नम्बर दसका अध्यक्ष अरुणपीडित भण्डारीमाथि आक्रमण भएको छ । वडाध्यक्ष भण्डारीलाई दिउँसो तीन बजेतिर शहीदचोकमा रहेको सिद्धि आयल स्टोर्स अगाडि मोटरसाइकलमा आएका अपरिचित दुई व्यक्तिले आक्रमण गरेर भागेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार गाडीमा चढ्न लागेको बेला मोटरसाइकलमा आएका अपरिचित दुई व्यक्तिमध्ये एक जनाले वडाध्यक्ष भण्डारीमाथि मोबिल छर्केका थिए । अर्को व्यक्तिले वडाध्यक्ष भण्डारीको टाउकोमा ढुंगाले प्रहार गरेका थिए । घटनास्थल वरपर रहेका व्यक्तिहरुले होहल्ला गरेपछि अपरिचित दुबै जना मोटरसाइकल चढेर फरार भएका छन् ।
अपरिचित व्यक्तिको आक्रमणमा परेका वडाध्यक्ष भण्डारी घटनापछि आफैले गाडी चलाएर भरतपुर अस्पताल पुग्नु भएको थियो । भरतपुर अस्पतालमा उहाँको टाउकोको सिटीस्क्यान गरिएको छ । सिटी स्क्यानको रिपोर्ट नर्मल आएको जानकारी दिँदै अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीले केही समय अब्जरभेसनमा राख्नु पर्ने भएकोले वडाध्यक्ष भण्डारीलाई अस्पतालमै आराम गर्न लगाइएको बताउनु भयो ।
वडाध्यक्ष भण्डारीलाई आक्रमण गरी फरार रहेका दुई व्यक्तिको खोजी तीब्र बनाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वडाध्यक्षमाथिको आक्रमण आतंककारी गतिविधि भएको भन्दै भरतपुर महानगरले घटनाको निन्दा एवं भत्र्सना गरेको छ । वडाध्यक्ष भण्डारीलाई भेट्न भरतपुर महानगर प्रमुख रेनु दाहाल अस्पताल पुग्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस