राष्ट्रियसभा अधिवेशनको तयारी पुरा

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, १४ : २३
राष्ट्रियसभा अधिवेशनको तयारी पुरा

काठमाडौं । राष्ट्रियसभाको आठौँ अधिवेशनको तयारी पुरा भएको छ । राष्ट्रियसभाको आठौँ अधिवेशन भोलि असार १७ गते बिहीबार दिउँसो ४ बजेको लागि बोलाइएको छ । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संघीय संसद सचिवालयले जनाएको छ ।

राष्ट्रियसभामा हाल १९ वटा विधेयकहरु रहेको र यस अधिवेशनमा ती विधेयकका साथसाथै समितिका प्रतिवेदनहरू र संवैधानिक निकायबाट आएका पत्रहरू प्रस्तुत हुने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरू पेश गर्नुपर्ने नियमावलीको व्यवस्थाअनुसार अध्यादेशहरू पेश हुने पनि उनले बताए ।

राष्ट्रियसभा बैठकमा सहभागी हुने सदस्यहरुको बुधबार एन्टिजेन परीक्षण पनि गरिएको छ । संसद भवनमा समाचार संकलनका लागि जाने सञ्चारकर्मी, सुरक्षाकर्मी र संसद सचिवालयको कर्मचारीको पनि एन्टिजेन परिक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस