प्रदेश १ को प्रदेशसभा वैठक अवरुद्ध ,मन्त्रीले माफी माग्नुपर्ने माग

सफल खबर संवाददाता

सोमबार, १४ असार २०७८, १३ : २७
प्रदेश १ को प्रदेशसभा वैठक अवरुद्ध ,मन्त्रीले माफी माग्नुपर्ने माग

विराटनगर। नेकपा माओवादी केन्द्रले प्रदेश १ को प्रदेशसभा वैठक अवरुद्ध गरेको छ ।आइतबारको प्रदेशसभा बैठकमा मन्त्री गुरुङले माओवादी केन्द्रका सांसद मोहनबहादुर खड्कालाई व्यक्तिगत गालीगलौच गरेको भन्दै माफी माग्न माग गरेको हो ।

माओवादी केन्द्रका सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक मंगलबार दिउँसो १२ बजेसम्मका लागि स्थगित गरेका छन् ।माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मन्त्रीले बोलेको कुरा संसदको रेकर्डबाट मेटाउनुपर्ने माग गरे । उनले भने, ‘सांसदले प्रश्न उठाउन पाउँछन्, मन्त्रीको अभिव्यक्ति असंसदीय र अमर्यादित छ ।’

माओवादी केन्द्रले संसद अवरुद्ध गर्ने बताएपछि मुख्यमन्त्री शेरधन राईले आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई माओवादी केन्द्रसँग छलफल गर्न पठाएका थिए । तर माओवादी केन्द्रले कार्कीसँग छलफल गर्न गर्न मानेन ।

छलफल अघि मुख्यमन्त्री राईले माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोलाई टेलिफोन गर्दै सांसद खड्का र मन्त्री गुरुङ दुबैलाई माफी मगाउन प्रस्ताव गरेपछि माओवादी केन्द्रले मन्त्री कार्कीसँग छलफल नगरेको हो । मुख्यमन्त्री शेरधन राईले मन्त्री गुरुङको पक्ष लिएपछि छलफल गर्न आवश्यक नदेखिएको आङ्बोले बताए ।

प्रतिक्रिया दिनुहोस