भोलिदेखि काठमाडौंमा सार्वजनिक सवारीसाधन जोर बिजोरमा चल्न पाउने(आदेशसहित)

सफल खबर संवाददाता

सोमबार, १४ असार २०७८, १२ : ०७
भोलिदेखि काठमाडौंमा सार्वजनिक सवारीसाधन जोर बिजोरमा चल्न पाउने(आदेशसहित)

काठमाडौं । उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुले कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै एक साता लम्ब्याउने निर्णय गरेका छन् ।असार २१ गते मध्यरातसम्म निषेधाज्ञा थपिएको हो । जारी निषेधाज्ञा आज मध्यरातसम्म कायमै छ ।

प्रशासनको निर्णयअनुसार जोर–बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन उपत्यकाभित्र संचालन हुन पाउने भएका छन् । भौतिक दूरी कायम गर्दै ती सवारी साधनलाई मंगलबारदेखि संचालन अनुमति दिइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

यातायात व्यवसायीको तीव्र दबाबपछि जिल्ला प्रशासनहरुले सर्तसहित सेवा संचालनको अनुमति दिएका हुन् । अहिले उपत्यकाका तीन जिल्लामा निजी सवारी साधन जोर–बिजोर प्रणालीमा संचालन भैरहेका छन् ।

निषेधाज्ञामा यसअघि लागु गरिएका अन्य प्रतिबन्ध र खुकुलोका प्रावधानहरु भने कायमै रहेको ललितपुर सीडीओ निरौलाले बताए । ‘अहिलेलाई २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातमा भौतिक दूरी कायम गर्दै चलाउन अनुमति दिने निर्णय भएको छ’ निरौलाले भने ।

उपत्यकामा उल्लेखनीयरुपमा कोरोना संक्रमण नघटेकाले निषेधाज्ञालाई भने निरन्तरता दिइएको उनले बताए । ‘एकैपटक सार्वजनिक यातायात खुलाउँदा संक्रमण पुनः बढ्ने निष्कर्षको आधारमा अहिलेलाई केही खुकुलो मात्र तुल्याएका हौं’ निरौलाले भने ।

 

प्रतिक्रिया दिनुहोस