गुनासो नआउने गरी काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, १८ : ३१
गुनासो नआउने गरी काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

file-photo

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सेवाग्राहीबाट कुनैपनि प्रकारको गुनासो नआउने गरी कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले आ–आफ्नो परिभाषित काम र जिम्मेवारीलाई कुनैपनि प्रकारका गुनासो नआउने गरी पुरा गर्न निर्देशन दिएका हुन् । उनले कार्य सम्पादनमा ढिला नगर्न पनि निर्देशन दिए । मन्त्रालयलाई विकासमा लानको लागि अनुशासनको आवश्यकता रहेको भन्दै उनले अनुशासनको परिपालना गर्न पनि आग्रह गरे ।

उनले भने– ‘हामीले हाम्रो संस्थालाई विकासमा लानको लागि त्यहाँ अनुशासनको खाँचो हुन्छ । हरेक पदको आ–आफ्नो अनुशासनको परिभाषित ड्युटी हुन्छ । त्यो ड्युटीमा आ–आफ्नो परिभाषित काम, आ–आफ्नो जिम्मेवारीलाई कुनै खालको विलम्ब नहुनेगरी कहीँकतै, कुनै गुनासो नआउने गरेर सेवाग्राहीलाई सेवा गर्ने सेवाग्राहीसँग सम्पर्कमा रहने राष्ट्रसेवकको बढी जिम्मेवारी हुन्छ ।’

मन्त्री श्रेष्ठले कर्मचारीहरुलाई सही काम गर्नका लागि नआत्तिन र नडराउन निर्देशन पनि दिए । उनले विदेशमा रहेका श्रमिकहरुको अप्ठ्यारोमा सहजीकरण गर्नुपर्ने पनि बताए । कुनै पनि आग्रह, पूर्वाग्रह नराखिकन एउटै परिवारको रुपमा काम गर्नुपर्नेमा उनले जोड दिए । मन्त्री श्रेष्ठले आजै वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पनि कार्यभार सम्हालेका छन् । यससँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीको जिम्मेवारी पनि उनीसँगै छ ।

प्रतिक्रिया दिनुहोस