नेपाल पक्षका नेताहरुले भने– ओलीसँग दोस्रो पुस्ताले संवाद गर्नुको औचित्य छैन

सफल खबर संवाददाता

शनिबार, ०५ असार २०७८, १८ : ५५
नेपाल पक्षका नेताहरुले भने– ओलीसँग दोस्रो पुस्ताले संवाद गर्नुको औचित्य छैन

काठमाडौं । नेकपा एमालेलाई एकताबद्ध बनाउन माधव नेपाल पक्षका नेताहरुले दोस्रो पुस्ताले केपी ओली पक्षसँग वार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् ।

उनीहरुले नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबाहेक अरु नेताले गर्ने संवाद मान्य नहुने र त्यसको अर्थ पनि नहुने नेपालपक्षका नेताले बताएका छन्। पार्टी विवादमा दुवै पक्षका नेताहरुले संवाद जारी राखेको विषयमा नेपालपक्षकै नेताहरुले आपत्ति जनाउन थालेका छन्।

ओलीपक्षबाट महासचिव ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल तथा नेपालपक्षबाट घनश्याम भुसाल, योगेशकुमार भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट पार्टी एकता कायम राख्न सक्रिय छन्। उनीहरुले संवाद गरिरहेका छन् । ओली र नेपालपक्षबीच सहमति हुन थाल्यो र भयो जस्ता समाचार आइरहेका छन्। 

नेपाल पक्षका एक नेताले भने, ‘हामी पक्षका भनिएका दोस्रो पुस्ताले वार्ता गर्नुको कुनै औचित्य छैन,  व्यक्तिगत रुपमा ओलीपक्षका नेताहरुलाई भेट्नुहुन्छ, कुराकानी गर्नुहुन्छ भने त्यसको कुनै मूल्यमान्यता रहँदैन । आधिकारिकता पनि हुँदैन ।’  ओलीसँग नेपाल खनालसहित शीर्ष नेताहरु बस्नुपर्ने ती नेताको भनाइ छ। शीर्ष नेताहरुको छलफलले मात्र विवाद टुंग्याउन सकिने उनले दाबी गरे।

हाल नेपालपक्षबाट सक्रिय चारजना नेताले ओलीपक्षका नेताहरुसँग सहमति गरे पनि त्यसले कुनै असर नगर्ने ती नेताले बताए। नेपाल पक्षका नेताहरुले एमाले मिलाउने भन्दा नेपाल(खनालपक्षका बीचधारका नेताहरुलाई आफ्नो पक्षमा पार्न ओलीले छ बुँदे पासा फालेको आरोपसमेत लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस