कृषि विकासका लागि ‘कृषि वनको अध्ययन’ आवश्यक

सफल खबर संवाददाता

शनिबार, ०५ असार २०७८, १० : ५१
कृषि विकासका लागि ‘कृषि वनको अध्ययन’ आवश्यक

file Photo

काठमाडौं । कृषि र वन एक अर्कासँग सम्बन्धित भएपनि एक अर्कालाई स्वीकार नगरेको गुनासो सरोकारवालाहरूले गरेका छन् ।  वनलाई नमासिकन कृषि वनलाई प्रवद्र्धन गर्न सकिन्छ तर यसमा कृषि र वन दुवै क्षेत्र अन्योलमा रहेको बताइएको छ । कृषिमा वन र वनमा कृषि छ तर त्यो क्षेत्र कसको हो भनि दुवै क्षेत्रको अन्योल रहेको हुनाले दुवै क्षेत्रको विकास नभएको उनीहरुको धारणा रहेको छ ।

कृषि वनलाई प्रभावकारीलाई ढंगबाट अगाडि बढाउनका लागि दुवै पक्ष गम्भीर हुनुपर्ने कुरामा वक्ताहरूले जोड दिएका छन् । अन्तराष्ट्रिय खाद्य प्रणाली सम्मेलन २०२१ को सन्दर्भमा राष्ट्रिय कृषक समूह महासंघको साथै राष्ट्रिय भूमि अधिकार मञ्च, सामुदायिक वन उपभोक्ता महासंघ, खाद्यका लागि कृषि अभियान, राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघ नेपाल, एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले संयुक्त रुपमा शनिवार आयोजना गरेको ‘दिगो खाद्य प्रणालीमा उत्पादक समूह एवं साना किसानको योगदान’ विषयक गण्डकी प्रदेश स्तरीय भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरु सो कुरामा जोड दिएका हुन् । 

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.महेश्वर ढकालले कृषि र वनका लागि सबै क्षेत्रले मिलेर काम गनुपर्ने भएकाले एक अर्कालाई आरोप लगाउनु भन्दा सबै मिलेर काम गर्नुपर्ने सुझाव दिए ।  गण्डकी प्रदेशमा ३७ प्रति वन रहेको बताउँदै उनले कृषि र वनको बारेमा विशेष अध्ययन गर्नुपर्ने बताए । 

फलफूल विरुवा वितरण गर्ने काम आफ्नो मन्त्रालयले गरेको छ तर कृषि मन्त्रालयबाट फोन आयो कि यो काम त कृषि मन्त्रालयअन्तर्गत रहेको छ, त्यसको बारेमा बुझ्दा त कृषि र वन दुवैको रहेको छ, त्यसैले यसको बारेमा अध्ययन गर्नुपर्ने उनको भनाई छ ।   कृषि तथा वनको विषयलाई राजनीति विषय बनाउन नहुने बताउँदै सचिव ढकालले फेसबुके विश्लेषण भन्दा पनि ठोस रुपमा अध्ययन गर्नुपर्ने आवश्यकता रहेको औल्याए । कृषि र वनको विषयमा गहन अध्ययन हुन आवश्यक छ र यसका लागि मन्त्रालयले काम गर्न तयार रहेको उनले धारणा राखे ।

प्रतिक्रिया दिनुहोस