व्यायाम गर्दा तपाईंको बोसो कहाँ जान्छ ? विशेषज्ञलाई नै थाहा नभएको तथ्य यस्तो

आइतबार, २५ चैत्र २०७४, १४ : ५४
व्यायाम गर्दा तपाईंको बोसो कहाँ जान्छ ? विशेषज्ञलाई नै थाहा नभएको तथ्य यस्तो

व्यायाम गर्दा मानिसको शरिरबाट बोसो घट्दै जान्छ, तर आखिर यो जान्छ कहाँ ? लगभग १ सय ५० डाक्टर, आहार विशेषज्ञ र शारिरिक प्रशिक्षकले यो प्रश्नको गलत जवाफ दिए ।

अब हेरौं, तपाईंलाई यसबारे थाहा छ छैन ? प्रश्न निकै सजिलो छ – जब कोही व्यक्तिले कसरत गरेर आफ्नो तौल घटाउँछ भने उनको शरिरको बोसो कहाँ जान्छ ?

प्रश्नको जवाफ दिन तपाईंलाई तीन विकल्प पनि दिइएको छ ।

अ) बोसो ऊर्जा र तापमानमा परिवर्तित हुन्छ ।

ब) बोसो मांसपेशीमा परिवर्तन हुन्छ ।

स) बोसो कार्बन डाइअक्साइड र पानीमा परिवर्तन हुने गर्छ ।

यदि तपाईंको जवाफ माथि दिएका तीन विकल्पमध्येको ‘अ’ र ‘ब’ हो भने चिन्ता नगर्नुहोस् तपाईं अष्ट्रेलियाको न्यू साउथ वेल्स युनिभर्सिटीका स्कूल अफ बायोमोलिक्यूलर  साइन्सका वैज्ञानिक रुबेन मिरम्यानले १ सय ४७ विशेषज्ञमाथि गरेको सर्वेक्षणभित्र पर्नुहुनेछ जसले गलत जवाफ दिएका थिए ।

थुप्रै विशेषज्ञलाई पनि थाहा छैन यसको जवाफः
धेरैजसो विशेषज्ञले बोसो ऊर्जामा परिवर्तित हुने बताउँदै आएका थिए । सबैभन्दा आम प्रतिक्रिया बोसो ऊर्जा बन्छ भन्ने थियो । वास्तवमा यो भौतिक द्रव्य संरक्षकको नियम विपरित छ जसमा सबै रासायनिक प्रतिक्रियाको पालन गरिन्छ ।

माथि दिइएको दोस्रो विकल्प ‘ब’ बारे मीरम्यान भन्छन्, ‘बोसो मांसपेशीमा परिवर्तन हुनै सक्दैन । यो असम्भव कुरा हो ।’ सन् २०१४ मा बेलायतको मेडिकल जर्नलमा छापिएको मीरम्यानको अनुसन्धान अनुसार यसको सही जवाफ ‘स’ हो अर्थात् बोसो कार्बन डाइअक्साइड र पानीमा परिवर्तन हुन्छ ।

जसमा शरिरको मुख्य उत्सर्जन अंग फोक्सोको सबैभन्दा महत्वपूर्ण काम हुने गर्दछ । अनुसन्धानका अनुसार बोसो शरिरबाट पानी, पिसाब, पसिना, सास र अन्य शारिरिक तरल पदार्थको रुपमा बाहिर निस्कने गर्दछ ।

मीरम्यानले दकन्भरसेसन डट कममा लेखेका छन् – यदि तपाईं १० किलो बोसो कम गर्न चाहनुहुन्छ भने ८.४ किलो कार्बनडाइअक्साइडको माध्यमबाट र बाँकी १.६ किलो पानीको रुपमा बाहिर निकाल्नुपर्नेछ ।’ सरल भाषामा भन्नुपर्दा, व्यवहारिक रुपमा हामी जुन तौल कम गर्छौं त्यसलाई हामी सासको रुपमा फ्याँक्ने गर्छौं ।

डाक्टर किन गलत थिए ?
जुन १ सय ५० विशेषज्ञबिच सर्वेक्षण गरियो तीमध्ये तीनजनाले मात्र सही जवाफ दिए ।

मीरम्यानले अष्ट्रेलियाली विशेषज्ञका बिच उक्त सर्वेक्षण गरे तर उनले बीबीसीलाई अमेरिका, बेलायत र थुप्रै युरोपेली देशमा पनि यही गलत अवधारणा पाएको बताए । मीरम्यानको निष्कर्ष हामी जे खान्छौं त्यसबेला जति अक्सिजन लिन्छौं, त्यसलाई पनि समावेश गर्नुपर्छ भन्ने कुरामा आधारित छ ।

उदाहरणका लागि यदि तपाईं ३.५ किलो खाना र पानी खानुहुन्छ र त्यतिबेला ५ सय ग्राम अक्सिजन पनि लिनुहुन्छ भने तपाईंको शरिरबाट चार किलो जसरी पनि बाहिर निस्कनु पर्छ । मीरम्यान लेख्छन्, ‘नभए तपाईंको तौल बढ्छ ।’

मोटोपना घटाउन के गर्ने ?
उनी भन्छन्, ‘तौल घटाउनका लागि बोसो कोसिकाबाट कार्बनलाई बाहिर निकाल्नुपर्छ ।’ जब हामी सास फेर्छौं तब कार्बन छोड्छौं, त्यसो भए यदि हामी छिटोछिटो सास फेर्छौं भने कार्बनमा परिवर्तन भएको बोसोलाई कम गर्न सफल हुन्छौं त ?

मीरम्यान लेख्छन्, ‘दुर्भाग्यवश यस्तो हुँदैन किनभने आवश्यकताभन्दा बढि सास फेर्दा हाइपर्वेन्टलेशन हुन्छ जसका कारण तपाईंलाई रिंगटा लाग्छ र तपाईं बेहोस पनि हुनसक्नुहुन्छ ।’ ‘एकमात्र तरिका छ जसले तपाईंको शरिरबाट निस्कने कार्बन डाइअक्साइडको मात्रा बढ्नसक्छ । यसका लागि तपाईंले आफ्नो मांसपेशीको गतिविधीलाई बढाउनु पर्नेछ ।’

के हो सबैभन्दा प्रभावकारी उपाय ?
व्यायामका साथै मीरम्यानले कार्बनडाइअक्साइड उत्पन्न गर्ने अन्य तरिकाबारे पनि जानकारी दिएका छन् । उदाहरणका लागि एक ७५ किलो तौल भएका व्यक्ति आराम गरिरहेका बेला ५९० ग्राम कार्बनडाइअक्साइड उत्पन्न गर्दछ ।

मीरम्यान भन्छन्, ‘कुनै औषधी वा पेय पदाथैले यसको नम्बर बढाउन सक्दैनन् ।’ सुतिरहेका बेला एक व्यक्तिले करिब २ सय ग्राम कार्बन डाइअक्साइड उत्सर्जित गर्दछ । यसका साथै, उठ्दा मात्र  र तयार हुँदा पनि तपाईंको मेटाबोलिक दर दोब्बर हुन्छ । कतै टहल्दा, खाना पकाउँदा र घरको सरसफाइमा यो दर तेब्बरसम्म हुन्छ ।’ मीरम्यान भन्छन्, ‘यदि तौल कम गर्न चाहनुहुन्छ भने कम खानुहोस् र शरिरलाई धेरैभन्दा धेरै चलाउनुहोस् ।’ -बीबीसी

प्रतिक्रिया दिनुहोस