सुधार गर्नुपर्ने कुरा सूची बनाएर ल्याउनुस् : राज्यमन्त्री बाँस्कोटा

शनिबार, २४ चैत्र २०७४, २० : ४०
सुधार गर्नुपर्ने कुरा सूची बनाएर ल्याउनुस् : राज्यमन्त्री बाँस्कोटा

धुलिखेल । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले नेपाल पब्लिक क्याम्पस संघलाई सरकारले सुधार गर्नुपर्ने विषयलाई सूची बनाएर छलफलमा आउन आग्रह गरेका छन् ।

आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल पब्लिक क्याम्पस संघ जिल्ला कार्यसमितिले आयोजना गरेको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले शिक्षामा ठीक ढंगको नीति बनाउनका लागि सहयोग गर्न संघलाई आग्रह गरे ।

उनले भने, “तपाईंहरुको कुरा सुन्यो, त्यही हो कि भन्ने लाग्ने, निजी क्याम्पसको कुरा सुन्यो त्यही हो कि भन्ने लाग्ने र विश्वविद्यालयको कुरा सुन्यो त्यही हो कि भन्ने लाग्ने, सरकारले अब सबैको कुरालाई सुनेर विश्लेषण गर्छ र उचित किसिमले मनन गर्दै कार्यान्वयनमा जोड दिनेछ ।” उनले अनौपचारिक भन्नुभन्दा पनि सूचीका साथ छलफलमा आउन आग्रह गरे ।

कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले राम्रो मान्छे पनि नबस्ने र नराम्रो मान्छे पनि नबसेर विदेशिने अवस्थालाई अन्त्य गर्नका लागि अब सरकारले उचित व्यवस्थापन गर्न कदम चाल्ने बताए । सो अवसरमा उनले यसअघिको सरकार अस्थिर भएका कारण भूकम्पमा भएको क्षतिमा पुननिर्माणको काम गर्न नेपाल टेलिकमलाई जिम्मा परेको काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र नुवाकोटका विद्यालय र स्वास्थ्य चौकीमा गरी ७६५ वटा बिग्रेका टेलिफोन सेवा र इन्टरनेट सेवा पु¥याउन काम गर्नुपर्ने बताए ।

सो अवसरमा उनले नागरिक उत्तरदायित्व पूरा गर्ने काम नयाँ भर्ना अभियानलाई मद्धत गर्नका लागि दायित्व बहन गर्ने काममा सहभागी बन्न आग्रह गरे ।

कार्यक्रममा नेपाल पब्लिक संघका केन्द्रीय अध्यक्ष भोला ओझाले स्थापना भएको ३७ वर्ष बितिसक्दासमेत राज्यले पब्लिक क्याम्पसहरुलाई चिन्न नसकेको गुनासो गरे । पब्लिक क्याम्पसहरुमा प्राध्यापन गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले स्वीकार नगरेको उनको भनाइ छ ।

हामीले चलाएका क्याम्पस किन वैधानिक नहुने भन्ने प्रश्न गर्दै भने, “हाम्रा क्याम्पसहरुमा वर्षौंसम्म पढाउने प्राध्यापकलाई प्राध्यापक हो भन्ने आधार प्रसस्त हुँदाहुँदै पनि राज्यले दर्जा दिन नसक्नु कसको कमजोरी हो ?” २०३७ सालदेखि पढाउँदै आएका प्राध्यापकहरुको योगदानको स्तरको मापन गर्न सरकारले कदम चाल्नु पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा डेडिथुम्का पब्लिक क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष कश्यप पौडेलले क्याम्पसले प्रदान गरेको शिक्षामा प्रविधिसँग जोडेर काम गर्न सक्ने बनाउन आग्रह गरे । उनले भने, “अब धेरै क्याम्पसमात्रै खोलेरभन्दा पनि पछि खोलेका क्याम्पसहरू विषयगत विशेषज्ञ उत्पादन गर्ने केन्द्रका रुपमा विकास गरौँ ।”

अधिवेशनमा काभ्रेपलाञ्चोक जिल्लामा रहेका १६ वटा पब्लिक क्याम्पसका ४५ जनाको सहभागिता रहेको छ ।

आज नै सम्पन्न जिल्लाको तेस्रो अधिवेशनले केजी बैदारको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

संघको उपाध्यक्षमा केशवप्रसाद काफ्ले, सचिवमा ज्ञानबहादुर भुजेल, कोषाध्यक्षमा रामहरि दाहाल रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः रामप्रसाद अधिकारी, इन्द्रप्रसाद गौतम, हरिश्चन्द्र श्रेष्ठ र उर्मिला उप्रेतीलगायत रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस