सत्ता लम्ब्याउने दाउमा ओली, कामचलाउ मन्त्रिपरिषद् व्यापक हेरफेर

सफल खबर संवाददाता

शनिबार, २२ जेठ २०७८, ०८ : ०९
सत्ता लम्ब्याउने दाउमा ओली, कामचलाउ मन्त्रिपरिषद् व्यापक हेरफेर

काठमाडौं । सरकारको आयु र भविष्यका विषयमा राजनीतिक वृत्तमा अनेकन प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन्। आफ्नो पार्टी एमालेतर्फबाट सरकारमा सहभागी धेरैलाई हटाउँदै प्रधानमन्त्री ओलीले तीन उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका हुन्।

उनले नयाँ सरकार दिन नसकेको भन्दै प्रतिनिधिसभा विघटन गरी कात्तिक–मंसिरमा मध्यावधि निर्वाचन घोषणा गरेका छन्। यसको विरोधमा परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ। तर आफैंले मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली चुनावको तयारीमा जुट्नुको साटो मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरी सत्ता टिकाउन सक्रिय भएका छन्।

आफ्नै दल एमालेबाट सरकारमा सहभागीमध्ये चारजनाबाहेक अरू सबैलाई हटाएका प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई विभिन्न मन्त्रालय दिएका छन्। र, ठाकुर पक्ष सरकारमा सहभागी भएको छ। तीनजनालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका ओलीले ठाकुर पक्षलाई एक उपप्रधानमन्त्रीसहित एकतिहाइ मन्त्रालय दिएका छन्। संविधानसभाबाट जारी नयाँ संविधानले मधेस मुद्दा सम्बोधन नगरेको भन्दै बाहिर रहँदै आएको जसपाको ठाकुर पक्षबाट नेता राजेन्द्र महतोले सरकारमा नेतृत्व गरेका छन्। महतोले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। ठाकुर पक्षका अन्य सात नेताले मन्त्री र दुईले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

ठाकुर पक्षका नेता शरत्सिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ, अनिलकुमार झा खानेपानी, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मिया युवा तथा खेलकुदमन्त्री भएका छन्। त्यस्तै, चन्द्रकान्त चौधरी ऊर्जा र रेनुका गुरुङ महिला तथा बालबालिका राज्यमन्त्री भएका छन्। ठाकुर पक्षले गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा त्यो कदमलाई प्रतिगमनको संज्ञा दिएको थियो।  

ओलीले आफ्नै पार्टीबाट सरकारमा सहभागी चारबाहेक अरू सबैलाई जिम्मेवारी मुक्त गरेका छन्। एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री सरकारबाट बाहिरिएका छन्। रक्षा मन्त्रालयबाट जिम्मेवारी खोसिएका पोखरेल विनाविभागीय थिए। त्यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री पार्वत गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाम्फे, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो सरकारबाट बिदा भएका छन्। त्यस्तै, स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट बाहिरिएका छन्।

अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका ओलीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङलाई मात्र निरन्तरता दिएका छन्। एमालेका दुई नेतालाई नयाँ जिम्मेवारी दिएका ओलीले यसअघि रिक्त रहेका सात मन्त्रालय भने आफैंले राखेका छन्। यसअघि आफैंले काम गर्न नसकेको भन्दै हटाएका रघुवीर महासेठलाई उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारीसहित सरकारमा फेरि सहभागी गराएका छन्। पूर्वमन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसहित ल्याएका छन्।  नागरिक दैनिकमा खबर छ ।