काठमाडौ । मन्त्रिपरिषद् बैठक आज (बिहीबार) साँझ बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओली साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
चीन भ्रमणबाट फर्केर आएपछि ओलीले पहिलोपल्ट मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएपछि सत्तारुढ दल नेपाली कांग्रेसका केही नेताले संशय व्यक्त गरेका छन्। सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन बैठकले पनि उक्त सम्झौतालाई खुलेर स्वागत गर्न सकेन।
कांग्रेसभित्रैबाट प्रश्न उठाइएपछि परराष्ट्र मन्त्रालयले मंगलबार बेइजिङमा हस्ताक्षर गरिएको बीआरआईसम्बन्धी सम्झौतापत्र नै सार्वजनिक गरिदिएको छ।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा गएर २० गते फर्किएका थिए। परराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु राणा देउवा पनि भ्रमण टोलीमा थिइन्।
मंगलबार साँझ पार्टीको सचिवालय बैठक बोलाएका प्रधानमन्त्री ओलीले त्यहाँ पनि चीन भ्रमणबारे केही बोलेनन्। भ्रमणबारे जानकारी दिन उनले पार्टीका उपमहासचिव विष्णु रिमाललाई अह्राएका थिए।
आजको बैठकमा केही नियुक्ति र बढुवा पनि हुन सक्ने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
बिहीबार स्थगित मन्त्रिपरिषद्को बैठक आज बस्ने
मन्त्रिपरिषद्को बैठक बस्दै
दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै, दमननाथको अन्तिम संस्कारबारे निर्णय हुने