अवैधरुपमा भारततर्फ  लैजाँदै गरेको १० लाखभन्दा बढी मूल्यको मदिरा बरामद

रासस

शुक्रबार, २१ जेठ २०७८, १३ : ०८
अवैधरुपमा भारततर्फ  लैजाँदै गरेको १० लाखभन्दा बढी मूल्यको मदिरा बरामद

काठमाडौं । खुल्ला सिमानको फाइदा उठाउँदै रातको अँध्यारोमा नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको रु १० लाखभन्दा बढी मूल्यको मदिरा प्रहरीले पर्साको नियन्त्रणमा लिएको छ ।

पर्साको छिपहरमाई गाउँपालिका—२ भिष्वा बन्जारीबाट ट्याक्टरमा राख्दै गरेको अवस्थामा उक्त मूल्य बराबरको ३०० कार्टुन मदिरा नियन्त्रणमा लिएको हो  । 

नेपालबाट अवैध रुपमा मदिरा भारततर्फ निकासी भइरहेको गोप्य सूचनाको आधारमा कारवाही गर्दा रु १० लाख ६० हजार मूल्य बराबरको ३०० कार्टुन मदिरा बरामद भएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनले कोरोना सङ्क्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै भारततर्फ जाँदै गरेको ट्याक्टरलाई रोकी जाँच गर्दा उक्त परिमाणको मदिरा बरामद भएको र ट्याक्टर चालक फरार भएको बताए ।

फरार रहेका ट्याक्टर चालकको खोजतलास भइरहेको र बरामद भएको मदिर तथा वाहनलाई आवश्यक कारवाहीका लागि आज वीरगन्ज भन्सार कार्यालयमा पठाएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस