स्थापनाको अन्ठाउन्न वर्षपछि स्वर्ण महोत्सव मनाउँदै गुञ्जनगर मावि

शुक्रबार, २३ चैत्र २०७४, १५ : २७
स्थापनाको अन्ठाउन्न वर्षपछि स्वर्ण महोत्सव मनाउँदै गुञ्जनगर मावि

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १८ मा रहेको गुञ्जनगर माध्यमिक विद्यालयले स्थापनाको ५८ वर्षपछि बल्ल स्वर्ण महोत्सव मनाउँदैछ । विद्यालय परिसरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी स्वर्ण महोत्सवबारे जानकारी दिइएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु ढकालले आठ वर्षअघि नै स्वर्ण महोत्सव मनाउनु पर्नेमा त्यतिबेला विद्यालयको स्तरोन्नतिको लागि महायज्ञ आयोजना गरिएकोले ढिलाई भएको बताउनु भयो । विद्यालयका प्रधानाध्यापक सूर्यभक्त वाग्लेले नर्सरीदेखि १२ कक्षासम्म पढाई हुने जानकारी गराउनु भयो । उहाँका अनुसार विद्यालयमा विद्यार्थी ६ सय ६६ जना, शिक्षक र कर्मचारी २८ जना रहेका छन् ।

२०१६ साल फागुन १६ गते स्थापना भएको गुञ्जनगर माविमा हाल कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी संकाय अन्तर्गतका विषय पढाई हुँदै आएको छ । २०४५ सालदेखि यस विद्यालयबाट विद्यार्थीहरु एसएलसी परीक्षामा सामेल हुन थालेको विद्यालयले जनाएको छ । हालसम्म एसएलसी र एसईई परीक्षामा एक हजार एक सय १४ जना विद्यार्थी सहभागी भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस