नयाँ वर्षको अवसरमा माछा महोत्सव

शुक्रबार, २३ चैत्र २०७४, १४ : २३
नयाँ वर्षको अवसरमा माछा महोत्सव

पोखरा । होटल तथा रेष्टुरेन्ट एशोसिएसन लेखनाथको आयोजनामा नयाँ वर्षको अवसर पारी बेगनास ताल किनारमा माछा महोत्सव हुने भएको छ । महोत्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चांैथो बेगनास फिस फेष्टिबल प्रचारप्रसार उपसमितिका संयोजक दामोदर भक्त थापाले यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

लेखनाथ क्षेत्रका पर्यटकीयस्थलका साथै यहाँ पाइने माछा, मह, कफी तथा जडीबुटीको प्रचारप्रसार लगायतका उद्देश्य राखी महोत्सव आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा मोटरबोटमा ताल शयर गर्दै बेगनास बराह मन्दिर दर्शनको अवसर, माछापालक कृषकलाई लक्षित गरी माछा रोेग शिविर तथा पानी जाँच्ने कार्यक्रम, माछा, मह तथा कफी प्रदर्शनी र बिक्री, हेलिकप्टरबाट सात तालसहितका पर्यटकीय स्थलको अवलोकनलगायतका आकर्षण रहने आयोजकले जनाएको छ ।

महोत्सवका निर्देशक दुर्गाप्रसाद अधिकारीका अनुसार महोत्सवमा ७० हजार दर्शकले अवलोकन गर्ने र ४० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव सञ्चालनमा १७ लाख आम्दानी भई रु १६ लाख खर्च हुने र बचत एक लाख रुपैयाँ ताल सरसफाइका साथै सामाजिक सेवाका क्षेत्रमा खर्च गरिने अधिकारीले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस