काठमाडौंमा जेठ अन्तिमसम्म निषेधाज्ञा लम्ब्याउने तयारी , सिडिओहरुको बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, ११ : ३३
काठमाडौंमा जेठ अन्तिमसम्म निषेधाज्ञा लम्ब्याउने तयारी , सिडिओहरुको बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा यही जेठको अन्तिमसम्म लम्ब्याउने गृहकार्यमा प्रशासन जुटेको छ ।उपत्यकामा कोरोना संक्रमणको दर घट्दै गए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जेठ अन्तिमसम्म निषेधाज्ञा जारी राख्ने प्रशासनको तयारी छ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली संक्रमण दर घट्दैमा तत्काल निषेधाज्ञा अन्त्य नहुने बताउँछन् । ‘‘जेठ २० गतेसम्मका लागि खाद्यान्न पसल पूर्ण रुपमा बन्द गरिएका छन् । अहिले संक्रमण दर घट्दो छ । तर, संक्रमण दर घट्यो भन्दै निषेधाज्ञा खुलाउने कुरा हुँदैन । पुनः संक्रमण नफैलिएला भन्न सकिँदैन,” उनले भने, ‘‘कोरोना महामारी नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा जारी नै रहन्छ । पछिल्लो साता कडा निषेधाज्ञा लगाइएकाले संक्रमण दर घटेको छ ।”

केही दिनयता काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ गर्दा संक्रमण दर तुलनात्मक रुपमा घटेको उनको भनाइ छ । उनका अनुसार जेठ २० गतेपछिको निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी सहजीकरण गरिनेबारे आज उपत्यकाका सीडीओहरुको बैठक बस्दै छ ।

‘‘जेठ १४ गतेदेखि बन्द गरिएका खाद्यान्न पसल खुलाउने गरी तयारी थालेका छौँ । कडाइका साथ लागु गरिएको निषेधाज्ञा सकिन दुई दिन बाँकी छ । हामीले निषेधाज्ञा थप गर्ने तयारी थालेका छौँ,” उनले भने ।

काठमाडौं उपत्यकाको निषेधाज्ञामा अब चरणबद्ध रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सहजीकरण गरिँदै लैजाने जनाइएको छ । प्रजिअ पराजुलीका अनुसार सीडीओहरुको बैठक आज दिउँसो ३ बजे बस्दै छ ।

प्रतिक्रिया दिनुहोस