कोरोनाको दोस्रो लहरयता कति जुट्यो अन्तर्राष्ट्रिय सहयोग ?

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, ०८ : २०
कोरोनाको दोस्रो लहरयता कति जुट्यो अन्तर्राष्ट्रिय सहयोग ?

काठमाडौँ । नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै विदेशी मुलुक तथा संघ–संस्थाबाट सहयोग आउने क्रम जारी छ । वैशाख १ देखि जेठ १६ सम्म विदेशी मुलुक, अन्तर्राष्ट्रिय संस्था, विदेशमा रहेका नेपालीका संघ–संस्था तथा व्यक्तिगत रूपमा सहयोग प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपालस्थित विभिन्न दूतावासहरूका अनुसार नेपाललाई पछिल्लो डेढ महिनामा कति सामग्री प्राप्त भएको छ त  ?

दोस्रो लहर सुरु भएसँगै सबैभन्दा पहिले सहयोग गर्ने प्रतिबद्धता उत्तरी छिमेक चीनले गरेको थियो । चीनले सबैभन्दा पहिले ५० लाख युआन बराबरको स्वास्थ्य सामग्री दिने वाचा गरेको थियो । नेपालसहित दक्षिण एसियाका अन्य मुलुक पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश सम्मिलित भर्चुअल मिटिङमा चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीले वैशाख १६ मा नेपाललाई उक्त रकमबराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने जनाएका थिए ।

जसअन्तर्गत नेपालले चीनबाट अक्सिजन ग्यास सिलिन्डर, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री ल्याइरहेको छ । सोही अनुदानअन्तर्गत नेपालले चीनबाट ३५ सय अक्सिजन सिलिन्डर र अन्य स्वास्थ्य सामग्री प्राप्त गरेको हो । उक्त सामग्री पटक–पटक गरेर हवाई र स्थलमार्ग हुँदै नेपाल आइरहेको छ । जेठ १६ गते तातोपानी नाकाबाट आएको स्वास्थ्य सामग्री पनि त्यसैको एक पाटो हो ।

त्यसबाहेक चीनले नेपाललाई थप १० लाख मात्रा खोप दिने जनाएको छ । यसअघि उसले ८ लाख मात्रा दिएको थियो । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग जेठ १३ गते भएको टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सी चिनफिङले थप खोप सहयोग गर्ने घोषणा गरेका थिए, त्यसमध्ये ८ लाख मात्रा मंगलबार नेपाल आइपुग्दैछ । चिनियाँ सरकारले नेपाली दूतावासलाई हस्तान्तरण गरेको उक्त खोप दूतावासले नेपाल एयरलाइन्सको विमानमा नेपाल पठाएको हो । बाँकी २ लाख मात्रा भने तिब्बत सरकारले स्थलमार्गबाट नेपाल पठाउनेछ । त्यसका साथै चिनियाँ कम्पनी होङ्सी शिवम् सिमेन्टले पनि नेपाललाई १७० अक्सिजन कन्सन्ट्रेटर वैशाख २८ गते हस्तान्तरण गरेको थियो ।

चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपाललाई सहयोग गर्ने घोषणा गरेकै भोलिपल्ट वैशाख १७ गते अमेरिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि थप ८५ लाख अमेरिकी डलर दिने घोषणा गर्‍यो । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोग नियोग यूएसएआईडीमार्फत उक्त सहयोग गर्ने जनायो ।

थप सहयोग नेपालको कोरोना परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, केसको अनुसन्धान, उपचार, संक्रमण रोकथाम र नियन्त्रण, सीमा नियन्त्रण र अन्य संघीय, प्रादेशिक र स्थानीय तहका लागि भएको अमेरिकाले जनाएको थियो । त्यसपछि वैशाख ३० मा अमेरिकी इन्डो–प्यासिफिक कमान्डले अन्तर्राष्ट्रिय मानवीय विपत्ति सहायता तथा नेपालका लागि नागरिक सहयोगअन्तर्गत कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त कमान्डले अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलरबराबरको सहयोग दिएको छ । थप समाचार कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस