नयाँ सरकार गठनका लागि बाटो खोलिदिए : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १३ : ०८
नयाँ सरकार गठनका लागि बाटो खोलिदिए : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो खोलिदिएको प्रस्ट पारेका छन् ।

बालुवाटारमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उनले बिहीबार राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएपछि त्यसलाई कृत्रिम र नाटकीय व्याख्या गरेको पाइएको बताए ।

यो नगरेर विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त हुँदैनथ्यो भन्ने प्रस्ट छ,’ उनले भने, ‘फेरि जाने संविधानको धारा ७६ उपधारा ५ कै प्रक्रियामा हो ।’

जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने बाध्यता रहेको तर्फ पनि उनले औंल्याए । ‘मानौं जेठ १४ गते सरकार बन्यो भने बजेट कसरी पेश गर्छ ?,’ उनले भने, ‘आफ्ना नीति कार्यक्रम कसरी तर्जुमा गर्ला ?’

नयाँ सरकार गठनका लागि धेरै समय नरहेको उनले बताए । ‘त्यसैले हामीले समय लिएर विश्वासको मत लिने कर्मकाण्ड पूरा गरेर, विश्वासको मतबाट फेरि पराजित भएर उपधारा ५ मा गइरहने समयको सुविधा हामीसँग छैन,’ उनले भने ।

धारा ७६ को उपधारा ५ मा जाने भइसकेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गरिदिनु र सरकार गठनको बाटो खोलिदिनु समयको चापका हिसाबले उचितमात्र होइन अत्यावश्यक रहेको उनको भनाइ छ ।आफ्नो यो कदम छलेर सरकार जोगाउन वा छलेर सरकार कब्जा गर्न केन्द्रित नरहेको उनले प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस