रौतहटमा जेठ १३ गते सम्म निषेधाज्ञा लम्बियो

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १२ : ५५
रौतहटमा जेठ १३ गते सम्म निषेधाज्ञा लम्बियो

रौटहट । रौटहटमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दोस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज  एक सूचना जारी गरी भोलि राति १२ बजेदेखि लागू हुनेगरी जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय गौरमा बुधबार सम्पन्न बैठकले जेठ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।रौतहटका सिडिओ इन्द्रदेव यादवले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले सो अवस्था रोकथामको लागि निषेधाज्ञा गरिएको जानकारी दिए । 

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।  सवारीका साधन संचालनमा समेत रोक लगाउने प्रशासनले निर्णय गरेको छ । अत्यावश्यक सुचीमा रहेको एम्बुलेन्स, खानेपानी, इन्धन, स्वास्थ्य, खाद्यान्न,तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी संचालन गर्न दिइने छ ।

 त्यसैगरी बैंक तथा वित्तिय संस्था, दुरसंचार, विद्युत, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाकसेवा, लगायतका ढुवानी तथा यातायातका साधन समेत विषय उल्लेख गरी संचालन गर्न पाईने छ । 

पसल तथा हाटबजार तत्काललाई संचालनमा ल्याउन नपाइने रौतहट प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । होटल तथा रेष्टुरेन्ट, जीमखाना,पार्लर,शैक्षिक संस्था,ट्युसन सेन्टरहरु पुर्णरुपमा बन्द गराउन निर्देशन दिईएको छ। 

सरकारी कार्यालयको हकमा अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका कार्यालयले आलोपालो काम सुचारु गर्ने भनिएको छ ।   विवाहमा बढीमा १५ जना दुई गाडीमा बेहुला,बेहुली सहित ब्यानर राखेर  हिँड्न पाइने छ ।  प्रशासनले संक्रमण दर बढ्दै गएकाले निषेधाज्ञाको आदेश कडाइका साथ पालना गर्ने र गराउने गरी निषेधाज्ञा जारी गरिएको जनाएको रौतहट प्रहरी प्रमुख एसपी सिद्दी बिक्रम शाहले जनाए । निषेधाज्ञा जारी भएको अवस्थामा अत्यावश्यक सेवा र कामकाज बाहेक पैदलयात्री  हिँडडुल गर्न पाइने छैन । 

रौतहटमा कोरोनाको कारण ६१ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या  ८३६ पुगेको छ । सो मध्ये ६७६ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस