प्रधानमन्त्री ओलीलाई देउवाले बुझाए १५ बुँदे ध्यानाकर्षण पत्र

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १२ : ०६
प्रधानमन्त्री ओलीलाई देउवाले बुझाए १५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

पार्टीका शीर्ष नेताहरूसहित सिंहदरबार पुगेका सभापति देउवाले ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई जनताको जीवनप्रति जिम्मेवार रहन आग्रह गरेका हुन् । कोरोनाविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउन, अक्सिजनको अभाव अन्त्य गर्न र खोप खरीदमा भएको अनियमितताको छानबिन गर्न माग समेत गरेका छन् ।

भेटमा सभापति देउवाले कोरोनाको तेस्रो लहरको चेतावनी विज्ञहरुले दिइसकेकाले बेलैमा तयारी गर्न सरकारलाई सुझाएका थिए ।‘बालबालिकालाई धेरै असर गर्नसक्ने कुरा छ । बेलैमा सरकारले विशेष व्यवस्था गरोस्’, देउवाले भने ।

कोरोनाका विषयमा कुरा गर्न आफू आएको भन्दै छलफल सुरु गरेका सभापति देउवाले सरकारको आलोचना गरेका विषयमा प्रधानमन्त्रीले खण्डन गरेका थिए ।‘कोरोना नियन्त्रणका लागि तपाईहरुले दिएको सुझाव ग्रहण गर्छु तर सरकारले केही नगरेको होइन’, ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस