उद्योगहरू अक्सिजन र सिलिन्डरको उत्पादन क्षमता बढाउँदै

सफल खबर संवाददाता

सोमबार, ०३ जेठ २०७८, ११ : २५
उद्योगहरू अक्सिजन र सिलिन्डरको उत्पादन क्षमता बढाउँदै

काठमाडौं । सरकार र निजी क्षेत्र दुवै अक्सिजन उत्पादन र सिलिन्डर आयातको क्षमता बढाउन जुटेका छन् ।केही दिनअघि प्रधानमन्त्रीको कार्यालय र विद्युत प्राधिकरणका प्रतिनिधिले अक्सिजन उद्योगको अनुगमनसमेत गरेका थिए ।

सरकारले अक्सिजन लगायत कोभिड-१९ रोकथान तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्रीको आयातमा लाग्ने कर छुट दिएको छ । अर्थमन्त्रालयले डडेल्धुरा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जमा अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णयको सझौतामा हस्ताक्षर गरेको छ ।

अक्सिजनको सिलिन्डर अभाव भएपछि अक्सिजन प्रयोग गर्ने उद्योगले आफूसँगका सिलिन्डर सरकारलाई दिइसकेका छन् । संक्रमित बढ्दै गएको अहिलेको अवस्थामा २२ अस्पतालले अक्सिजन प्लान्ट स्थापना गरेका छन् ।

अक्सिजन अभाव भएपछि नयाँ उद्योग स्थापना र भएका उद्योगहरूको क्षमता बढाउन थालिएको छ । कैलालीको टिकापुरमा सञ्चालन हुनेगरी ३० करोड लागतमा सञ्चालन गर्ने गरी नयाँ उद्योग दर्ता भएको छ । सो उद्योग सञ्चालनमा आएपछि प्रति मिनेट ५०० क्यूभी लिटर अक्सिजन उत्पादन गर्ने छ ।

शंकर अक्सिजन उद्योगले पनि रुपन्देहीमा प्रतिवर्ष ४८ लाख क्यूभी लिटर अक्सिजन उत्पादन क्षमताको नयाँ उद्योग दर्ता गराएको छ । यस उद्योगले बालाजु औद्योगिक क्षेत्रमा हाल उत्पादन गर्दै आएको ७ लाख क्यूभी लिटरबाट बढाएर १५ लाख ३६ हजार क्यूभी लिटर उत्पादन वृद्धि गरेको उद्योग विभागका महानिर्देशक जिबलाल भुषालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस