कोरोना कहर : योजना छनोटमा अन्योल

रासस

आइतबार, ०२ जेठ २०७८, १३ : ०४
कोरोना कहर : योजना छनोटमा अन्योल

बलेवा । स्थानीय सरकारले नीति कार्यक्रम र बजेट ल्याउने समयावधि एक महिना बाँकी छ ।कानूनी रुपमा अगामी असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट परिषद्मा टेबल गर्नुपर्छ । नीति तथा कार्यक्रम र बजेटको सयम नजिकिँदै गर्दा कोरोनाको चपेटामा परेका स्थानीयवासीमा अन्योल छाएको छ । 

महामारी नभएको भए यतिबेला टोलभेला र छलफलहरू शुरु हुन्थे । कोरोना महामारीका कारण जिल्लाभर भएको निशेधाज्ञाले मानिस जम्मा भएर छलफल गर्ने छुट छैन् । सङ्घीय सरकारले बजेटको सिलिङ पठाइसकेको भएपनि कार्यपालिका बैठक बस्ने अवस्था नरहेको जिल्लाको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिए।

पहिले कार्यपालिकाको बैठक बसेपछि बैठकको निर्णयका आधारमा टोल भेला गरेर गाउँपालिकाले योजनाहरूको छनौट गर्ने गरेको थियो । नगरपालिकाको पनि प्रक्रिया त्यही हो । “समय त छ तर महामारीको रुप हेर्दा तोकिएको समयमा बजेट ल्याउन पहिलेको प्रक्रियाले थालनी गरेर सम्भव छैन्’ बागलुङ नगरपालिकाका प्रमुख जनकारज पौडेलले भने “विकल्पबारे छलफल हुँदैछ, बजेट ल्याउनु नै पर्छ ।”

टोल भेला, वडा परिषदहुँदै बिषयगत समितिमा आउने योजनाको छनौट सर्वसाधारणकै सक्रियतामा गर्दा प्रभावकारी हुने बुझेका यहाँका स्थानीय तहलाई यस पटक महामारीको चुनौती छ । “बैठकहरू समेत बस्ने अवस्था छैन, हामी सबै तयारीमा थियौं’ उनी भन्छन् ‘अब प्रबिधिको प्रयोग गर्नुको विकल्प छैन ।” 

जिल्लाको बरेङ गाउँपालिकाले टोल भेला गर्ने योजना बनाइ सकेको थियो । वडालाई तयार रहन कार्यपालिकाले निर्णय गर्नेगरी तयारी हुँदै गर्दा बरेङमा पनि महामारी पस्यो । “बजेटको सिलिङ आउने बेला भयो भनेर हामीले तयारी थालेका थियौं तर महामारीले सबैलाई घर भित्र थुन्नु परेको छ ”गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा भन्छन “कार्यपालिकामा नीति कार्यक्रमको पूर्व छलफल समेत हुन पाएको छैन् ।”
 

प्रतिक्रिया दिनुहोस