काठमाडौं । स्वीडेनका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले अर्को महिनादेखि सुरु हुने युरोकप नखेल्ने भएका छन् । घुँडाको चोटका कारण भेट्रान इब्राहिमोभिचले युरोकप गुमाउने भएका हुन् ।
३९ वर्षीय इब्राहिमोभिच गत मार्चमा अन्तर्राष्ट्रिय सन्यास फिर्ता लिँदै राष्ट्रिय टिममा परेका थिए ।तर पाँच वर्षपछि राष्ट्रिय टिममा फर्किएका उनले युरोकप भने नखेल्ने भएका छन् ।
स्वीडेन फुटबल संघले अफिसियल ट्वीटरमा इब्राहिमोभिचले चोटका कारण युरोकप खेल्न नसक्ने प्रशिक्षक जाने एन्डरसनलाई जानकारी गराएको उल्लेख गरेको छ । प्रशिक्षक एन्डरसनले यो दुवैका लागि दुस्खद रहेको बताए।‘निश्चय नै यो दुस्खद हो, विशेषगरी ज्लाटनको लागि तर हाम्रो लागि पनि,’ एन्डरसनले भने, ‘मलाई आशा छ उनी जतिसक्दो चाँडो मैदानमा फर्कनेछन् ।’
इटालियन सिरी ए अन्तर्गत मे ९ मा युभेन्ट्सविरुद्धको खेलमा इब्राहिमोभिचलाई चोट लागेको थियो । एसी मिलानले ३-० ले जितेको उक्त खेलमा उनी ६६ मिनेटपछि मैदान सब्सिच्युट भएका थिए ।
सन् २००१ मा डेब्यु गरेका उनले स्वीडेनका लागि ११६ खेल खेलेका छन् । उनी सर्वाधिक गोलकर्ता समेत हुन् । उनले राष्ट्रिय टिमका लागि ६२ गोल गरेका छन् ।
सन् २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका इब्राहिमोभिच ५ वर्षपछि फेरी अन्तर्राष्ट्रिय फुटबलमा फर्केका थिए । विश्वकप २०२२ को छनोट अन्तर्गत मार्चमा उनले जर्जिया विरुद्धको खेल गोलका लागि असिस्ट समेत गरेका थिए ।
कोरोना महामारीका कारण एक वर्ष पछि सरेको युरोकप जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।इब्राहिमोभिच अघि नेदरल्याण्ड्सका कप्तान भर्जिल भान डाइकले पनि चोटकै कारण युरोकप नखेल्ने घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ जेठ २०७८, ११ : ४३
लेखकबाट थप