कार्यदलले टुंगाउन पार्टी एकता संयोजन समितिको बैठक आज

मंगलबार, २० चैत्र २०७४, ११ : ३९
कार्यदलले टुंगाउन पार्टी एकता संयोजन समितिको बैठक आज

काठमाडौं ।  वाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ । कार्यदलले टुंगाउन नसकेका तीन विषय चाहिँ आज एकता संयोजना समितिको बैठकमा छलफल हुँदैछन् ।
बैठकमा राजनीतिक, विधान तथा सांगठनिक कार्यदलका सदस्यको समेत उपस्थिति रहनेछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्नेछ ।
एकता संयोजन समितिको बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरिसकेपछि थप छलफल शुरु हुने नेताहरुले बताएका छन् । सकेसम्म मंगलबार नै टुंग्याउने प्रयासमा नेताहरु छन् ।
दुई पार्टीबीच एकीकृत पार्टीको केन्द्रीय कमिटीदेखि तल्लो तहसम्म दुवै पार्टीबाट सहभागिताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्द टुंगो लाग्न बाँकी छ ।
कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटि बनाउने सहमति गरेको छ । केन्द्रसहितसहित दशवटै तहका कमिटीहरूको संख्या टुंगिएको छ । तर, दुई पार्टीबाट कति–कति प्रतिशत अनुपातमा सहभागिता रहने भन्ने विवाद कायमै छ । एमाले चुनावी आँकडाका आधारमा अनुपात मिलाउने पक्षमा छ । माओवादी समानतालाई आधार मान्नुपर्ने मागमा छ ।
माओवादीले समानताका आधारमा सम्मानजनक एकताका लागि बराबरी हैसियत एकीकृत पार्टीमा माग गरेको छ। एमालेले भने संगठन र चुनावी परिणाम अनुसारको हैसियतसहित सांगठनिक संरचनाको आधार बनाउनुपर्ने बताएको छ।
सोही विषयमा शीर्ष नेतृत्वबीच कुरा नमिल्दा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको आसन्न भारत भ्रमण अगावै पार्टी एकता गर्ने तयारी रोकिन पुगेको थियो।

प्रतिक्रिया दिनुहोस