काठमाडौँ । यस सिजनका लागि आरोहण खुलेको छैटौं दिनमा बुधबार एक अमेरिकी र स्विस गरी दुई विदेशी आरोहीहरुको सगरमाथामा मृत्यु भएको छ ।
यी आरोहीहरुको व्यवस्थापनको जिम्मा लिएको सेभेन समिट ट्रेक्स प्रालिका निर्देशक छाङ दावा शेर्पाका अनुसार ४० वर्षीय स्विस नागरिक अब्दुल वाराइचको सगरमाथा आरोहण गरेर फर्किने क्रममा मृत्यु भएको हो । निर्देशक शेर्पाले सामाजिक सञ्जालमार्फत स्विस आरोही वाराइचको निधन साउथ समिट नजिकै निधन भएको जानकारी दिएका छन् ।
उनी थकानले ग्रसित भएको पनि उनले उल्लेख गरेका छन् । ‘अब्दुल सफलतापूर्वक शिखरमा पुगे तर उनले समस्या सामना गर्न सकेनन । खाना र अक्सिजनसहित दुई शेर्पालाई पनि पठायौं तर उनलाई शेर्पाहरुले जोगाउन सकेनन,’ छाङ दावाले आफ्नो फेसबुक पेजमा लेखेका छन् । काठमाडौंस्थित सेभन समिटका अध्यक्ष मिङ्मा शेर्पाले अब्दुलको निधन बुधबार बेलुकी ८ बजे भएको बताए ।
त्यसैगरी सगरमाथा चुचुरो पुग्ने क्रममा अमेरिकी आरोही ५५ वर्षी पुवे लियूको पनि बुधबार राति १२ बजे निधन भएको छ । उनको मृत्यु ७ हजार ९ सय मिटर उचाइमा रहेको चौथो क्याम्पमा भएको हो । चौथो क्याम्प भन्दामाथि हिलारी स्टेप उक्लिँदै गर्दा आरोही लियूले थकान र स्नो–ब्लाइन्डनेस हिउँका कारण हुने अन्धोपना को सामना गर्नु परेको थियो ।
आरोही लियू आवश्यकताभन्दा बढी अक्सिजन र अतिरिक्त शेर्पाका साथ साउथ कोलसम्म पुगेका थिए । उनलाई अप्ठ्यारो भएपछि चौथो क्याम्पमा झारिएको थियो । सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईंले अहिले सगरमाथाको मौसम बिग्रेकाले दुवै शवलाई आधार शिविरसम्म झार्न समय लाग्ने बताए ।
यस सिजनमा सगरमाथा आरोहणका लागि मात्रै पर्यटन विभागले ४४ वटा आरोहण दललाई अनुमति दिएको छ । जस्मा ९२ महिला र ३ सय १५ पुरुष छन् । यीमध्ये १२ वटा आरोहण दलका १ सय ३० जना सेभन समिटमार्फत त्यता गएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, १३ : ४८
लेखकबाट थप