कर्णाली प्रदेशमा थपिएका ३ मन्त्रीहरूको सपथ रोकियो

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १३ : ३९
कर्णाली प्रदेशमा थपिएका ३ मन्त्रीहरूको सपथ रोकियो

सुर्खेत । नेपाली कांग्रेसले असहमति जनाएपछि कर्णाली प्रदेशमा थपिएका ३ मन्त्रीहरूको सपथ ग्रहण समारोह रोकिएको छ । आज ११ बजे सपथ गराउने तय भएपनि कांग्रेस नेताहरुले एकलौटी ढंगले अगाडि नबढ्न मुख्यमन्त्री शाहीलाई सचेत गराएको छ ।

मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्ट र सीता नेपालीलाई ऊर्जा तथा जलस्रोत मन्त्रीको जिम्मेवारी दिने तयारी गरेका थिए ।

मन्त्रालय विभाजन गरिएकोमा कांग्रेसले असहमति जनाएको हो । कांग्रेसका लागि राखिएको सामाजिक विकास मन्त्रालय समेत मुख्यमन्त्री शाहीले विभाजन गरेर युवा तथा खेलकुद मन्त्रालय बनाएपछि कांग्रेसको असन्तुष्टि बढेको हो । मुख्यमन्त्री शाहीले सरकारलाई समर्थन गर्ने दल र समूहसंग छलफल गरेर अगाडि बढ्ने बताएका छन् ।

सहमति खोज्न मुख्यमन्त्री शाही, फ्लोर क्रस गरेर सरकार जोगाएका एमाले नेता प्रकाश ज्वाला र कांग्रेस नेता जीवनबहादुर शाहीबीच अहिले छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस