निषेधाज्ञामा यात्रुसँग तोकिएको भन्दा दोब्बर भाडा लिने दुईजना पक्राउ

सफल खबर संवाददाता

बुधबार, २९ बैशाख २०७८, १६ : ०६
निषेधाज्ञामा यात्रुसँग तोकिएको भन्दा दोब्बर भाडा लिने  दुईजना पक्राउ

काठमाडौँ । यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने दुईजनालाई कलंकी र बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरको छ ।उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिरका जिल्ला जाने यात्रुहरुसँग बढी भाडा लिइ ठगी गर्ने पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका ४१ बर्षीय हृदय नारायण साह र गंगबु काउण्टरबाट ३५ वर्षीय कृष्ण चौधरी रहेका छन् ।साहले ना६ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए भने चौधरीले ना ७ ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुहरुसँग प्रति ब्यक्ति पच्चीस सयदेखि तीन हजारसम्म भाडा लिने गरेका थिए ।

निषेधाज्ञा लागू भएपश्चात बढि भाडा लिइ यात्रु ठग्नेबिरुद्ध कारबाही अभियान सञ्‍चालन गरी छुट्टै डेडिकेटेड टिम समेत परिचालन गरेको ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । उनले भने, ‘टोलीले सूचना संकलन गर्ने, निग्रानी गर्ने, यात्रु बनी भाडा बार्गेनिङ्ग गर्ने, गोप्य रुपमा बुझ्ने र यात्रु ठग्नेलाई पक्राउ गरी कारबाही गर्दै आएका छौं।’यसअघि निषेधाज्ञा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट यात्रु ठग्नेलाई ट्राफिक प्रहरीले पक्राउ गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस